काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा सचिव पुष्करहरि कर्णले विगत लामो समयदेखि भ्रष्टाचार र अनियमितता गरेको विभिन्न मिडियाले सार्वजनिक गरेपछि आफ्ना कालाकर्तुत लुकाउनको लागि केही मिडियाहरुलाई खामबन्दी सहयोग दिने गरेको स्रोतले उल्लेख गरेको छ । श्रम सचिव कर्णले वैदेशिक रोजगार विभागमा सेटिङ गरेर आर्जन गरेको पैसा गृहसचिव बन्नको लागि खर्च गर्ने तयारी गरिरहेको स्रोतको दावी छ । श्रम मन्त्री भण्डारी र सचिव कर्णकै कारण अधिकांश नेपालीहरु वैदेशिक रोजगारीको नाममा ठगिँदै आएका छन् ।
नयाँ आर्थिक वर्षको सुरुआतसँगै म्यानपावर कम्पनी नविकरण गर्दा प्रतिकम्पनी न्यूनतम ५० देखि एक लाखको हाराहारी घुस लिने गरेको बताइन्छ । उता, अनुगमन गर्ने नाममा पनि विभिन्न म्यानपावर कम्पनीहरुलाई ‘तपाईंको कम्पनीको उजुरी अख्तियारमा परेको जानकारी मन्त्रालयमा आएको छ’ भन्दै तर्साएर पैसा असुल्ने गरेका छन् । ‘देश खाइ शेष’ भएका वैदेशिक रोजगार विभागका महानिर्देशक कमल भट्टराईको डिजाइन अनुसार सचिव कर्ण चल्ने गरेको बताइन्छ । सचिव कर्णले महानिर्देशक भट्टाराईसँगै अन्य कर्मचारीहरुलाई वैदेशिक रोजगार विभागमा सेटिङ गरेर पठाएका छन् ।
यता मन्त्रालयमा भने मन्त्री भण्डारी र सचिव कर्णको टसलले गर्दा अन्य कर्मचारीहरु अलमलमा परेका छन् । सचिव कर्णले ‘पिएसो’ राखेर चर्चा कमाएसँगै गृह मन्त्रालय र वैदेशिक रोजगार विभागको ‘इभी’ गाडी दुरुपयोग गरिरहेका छन् । गाडीसँगै उनको ड्राइभरको निजी मोटरसाइकिलमा समेत इन्धनको व्यवस्था गरेर राज्यदोहन गरिरहेका छन् । कर्ण जुन मन्त्रालय पुग्छन् त्यहीँ विवादमा मुछिने गर्दै आएका कर्मचारी हुन् । उनी संघीय मामिला मन्त्रालयमा बस्दा पनि विवादमा तानिएका व्यक्ति हुन् । त्यसैगरी अर्थ मन्त्रालय र पर्यटन मन्त्रालयमा बस्दा पनि विवादित कर्मचारीको रुपमा कर्ण चिनिने गर्दथे । कर्ण शक्ति र पावरको आडमा सँधै मालदार अड्डामा ‘रजगज’ गर्दै आएका कर्मचारीको रुपमा गनिन्छन् ।
कर्णले नेपाल सरकारको सचिव भएर भारतीय दूतावासबाट पनि फाइदा लिने गरेको स्रोतको भनाइ छ । नेपाल सरकारका मन्त्री र सचिवहरुमा सबैभन्दा विवादित पात्रको रुपमा श्रम मन्त्री भण्डारी र सचिव कर्ण रहेका छन् । कर्ण श्रम सचिव भएदेखि नै मन्त्री भण्डारीसँग टसल पर्दै आएको बताइन्छ । मन्त्री र सचिवबीच सधैं टसल पर्नुको मुख्य कारण भनेको घुस बापत आएको पैसाको भागबन्डा नमिल्नु नै हो । त्योसँगै वैदेशिक रोजगार विभागमा कमल भट्टराइलार्ई महानिर्देशक बनाउँदा मन्त्री भण्डारीसँग सचिव कर्णको मनमुटाव भएको थियो ।
त्यसै कारणले गर्दा अहिले ‘श्रम मन्त्री सरदसिंह भण्डारी कि ? पुष्करहरि कर्ण ?’ हुन् भन्ने चर्चा व्यापक रुपमा चल्न थालेको छ । अर्कोतर्फ मुख्यसचिव एकनारायण अर्याल र पुष्करहरि कर्णको कुनै समय पानीबाराबारको स्थिति थियो । अहिले तिनै कर्णले अर्यालपछि आफू मुख्यसचिव बन्नको लागि एकनारायणको चाकडी गरिरहेका छन् । मुख्य सचिव अर्यालको जागिरे अवधि आगामी मंसिरमा समाप्त हुँदै छ । अर्यालपछि आफू मुख्य सचिव बन्नको लागि अर्यालसँगै अन्य शक्तिकेन्द्र मिलाउन लागिपरेका छन् । त्यसको लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको गाडी मुख्य सचिव अर्यालयको घरायसी प्रयोगको लागि उपहार दिएको स्रोत बताउँछ ।

