काठमाडौं । नेकपा एमालेका सचिव एवं प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले ‘कुलिङ अफ पिरियड’का बारेमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नै छानबिनको दायरामा ल्याउनु पर्ने बताएका छन् ।
भट्टराईले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत दाहाललाई सम्बोधन गर्दै संघीय निजामति सेवा गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्थ गर्न बनेको विधेयकमा कुलिङ अफ पिरियडका बारेमा प्रधानमन्त्री लक्षित अभिव्यक्ति दिएकोप्रति गम्भीर ध्यानआकर्षण भएको उल्लेख गरेका छन् । उनले पूर्वप्रधानमन्त्री समेत रहेका दाहालमाथि यस प्रकरणमा तीन वटा कारणले छानबिन गर्न माग गरेका छन् । भट्टराईले आज विपक्षी बेन्चमा पुगेपछि एकाएक कुलिङ अफ पिरियडको भूत कसरी जाग्यो भन्दै प्रश्न समेत गरेका छन् ।
दाहालले शनिबार एक कार्यक्रममा यस विषयमा प्रधानमन्त्री केपी शर्मा ओली माथि छानबिन गर्नुपर्ने अभिव्यक्ति दिएपछि भट्टराईले त्यसको कडा प्रतिवाद गरेका हुन् ।
