काठमाडौं । हुम्ला–मुगु जोड्ने चङ्खेली गाउँपालिकाको लोतीखोलामा बेलीब्रिज निर्माण सम्पन्न भएको छ ।
पूर्वाधार विकास कार्यालयका अनुसार बयालीस मिटर लम्बाइको बेलीब्रिज कर्णाली नदीबाट १० मिटर उचाइमा रहेको र पुलको ३.१५ मिटर उचाइ, तीन वटा प्यानल र तीन वटा डेक राखिएको छ । चार करोड ९८ लाख रुपैयाँ लागतमा बेलीब्रिज जडान गर्ने काम सम्पन्न भएको हो ।
लोतीखोलामा पुल नहुँदा स्थानीयवासी समस्यामा रहेका थिए । हिउँदयाममा खोलामा पानी घटेपछि खोलाबाटै सवारीसाधन वारपार गर्दथे भने हल्का सवारीसाधनका लागि काठको पुल बनाइएको थियो । वर्षात्मा आएको खोलाले पुल बगाएपछि मानिससमेत तुइनमा तर्न बाध्य थिए ।
हुम्ला र मुगु जोड्नका लागि मात्र नभई चङ्खेली गाउँपालिकाको केन्द्र पिप्लाङ आवतजावत गर्न पनि गाउँपालिकावासी तुइनमै निर्भर रहेका थिए ।

