काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको सामाजिक सुरक्षा कोष र नेपाल बार एसोसिएशनबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ।
आइतबार साँझ एक कार्यक्रमबीच कोष र बारबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले नेपाल बारजस्तो गरिमामय संस्था सामाजिक सुरक्षा कोषमा आबद्ध हुनु ‘विश्वासको सम्झौता’ भएको बताएका छन् ।
बिहानदेखि बेलुकासम्म काम गर्दा अवकाशपछि केही पनि नपाउने अवस्थाको अन्त्य गर्न यो कोषको भूमिका महत्त्वपूर्ण हुने उनको भनाइ थियो ।
अन्तर्राष्ट्रिय श्रम सङ्गठनले नेपालको यो प्रयासलाई खाडी मुलुकहरूमा रोल मोडेलको रूपमा अघि बढाउने तयारी गरिरहेको उनको भनाइ थियो ।मन्त्री भण्डारीले कोषमा आबद्ध सङ्ख्या २४ लाख नजिक पुगिसकेको जनाउँदै यो आफैँमा ठूलो सन्देश सहित अभियान सफलताको बाटोमा अघि बढेको बताएका छन् ।
नेपाल बार एसोसिएशनका अध्यक्ष विजयप्रसाद मिश्रले देशको बैङ्किङ प्रणाली, कर्मचारी सञ्चय कोष र बीमा प्रणाली जस्तै सामाजिक सुरक्षा कोष पनि सफलतापूर्वक सञ्चालन गर्न सकिने विश्वास व्यक्त गरे । उनले सेवानिवृत्तिपछि लाभदायक हुने गरी कोषमा आबद्ध हुनु बुद्धिमानी हुने बताएका छन् ।
