काठमाडौं । म्याग्दीको मालिका गाउँपालिकाका चार सय घरमा खानेपानी सुविधा विस्तार गरिएको छ ।
मालिका गाउँपालिका, नेपाल नेवा नामक संस्थाको सहयोग र उपभोक्ताको श्रमदानमा निर्माण गरिएका तीन वटा खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजनामार्फत घरघरमा धारा जडान गरेर खानेपानी वितरण गरिएको हो ।
ती आयोजनाबाट डाडागाउँ, किटेनी, औल, सराग्दी र स्यागलुङका २२५ घरपरिवार, पात्लेका १२२ र लुुम्पीपारका ५३ घर परिवार लाभान्वित भएका छन् । दुई करोड १४ लाख रुपैयाँमा निर्माण गरिएका तीन वटै योजनाको आइतबार मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले उद्घाटन गरेका थिए ।
खानेपानी योजना निर्माणका लागि उपभोक्ताले प्रतिपरिवार ५० देखि ६० दिनका दरले श्रमदान गरेका थिए । पानीको मितव्ययी प्रयोगका लागि मिटर जडान गरिनुका साथै धारा वरपरको वातावरणलाई स्वच्छ बनाउन भाडा सुकाउने पक्की चाङ समेत निर्माण भएको पात्ले सिममुल खानेपानी, सरसफाई तथा स्वच्छता उपभोक्ता संस्थाले जनाएको हो ।

