रामचन्द्र बस्नेत
नेकपा एमालेले मंसिर २७ देखि २९ गतेभित्र पार्टीको ११ औं महाधिवेशन सम्पन्न गर्दै छ । महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीमा गर्ने भन्दै छ भने बन्दसत्र काठमाडौंस्थित भृकुटीमण्डमा गर्ने भनिरहेको छ । महाधिवशेनको लागि केन्द्रीय प्रतिनिधि छनोट भइरहेको छ । यसपटकको केन्द्रीय प्रतिनिधि छनोटमा कपितय जिल्ला अध्यक्ष, प्रदेश सांसद, पूर्वसांसदहरु र जनवर्गीय संगठनका अध्यक्षहरु पनि पराजित भएका छन् । आसन्न ११ औं महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्यानल बनाएरै प्रतिस्पर्धामा जाने भनिरहेका छन् । केन्द्रीय प्रतिनिधि छनोट पेचिलो बन्दै गएको छ ।
एमालेको प्रतिनिधि छनोटमा सबै तहतप्काका संगठनहरुका पदाधिकारीहरु पनि पराजित भएका छन् । त्यसले अध्यक्षको लागि केपी ओली र ईश्वर पोखरेलबीच कडा प्रतिस्पर्धा हुने संकेत देखिएको छ । ईश्वर पोखरेललाई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको भित्री रुपमा सहयोग रहेको बताइन्छ । अन्य वामपन्थी दलहरुले पनि विद्याको पक्षमा लभिङ गरिरहेको स्रोतले उल्लेख गरेको छ ।
तर, एमालेका बहुसंख्यक केन्द्रीय प्रतिनिधिहरु अध्यक्ष ओलीको पक्षमा रहेकाले भावी नेतृत्वमा ओली नै निर्वाचित हुने आँकलन गरिँदै छ । महाधिवेशन आउन अझै एक हप्ता बाँकी भएकाले कुन समूहले कस्तो टिम बनाएर अघि बढ्छ भन्ने एकिन भइसकेको छैन । वरिष्ठ नेता पोखरेलले विष्णु पौडेल, रघुवीर महासेठ र पृथ्वी सुब्बा गुरुङलाई आफ्नो प्यानलमा ल्याउन प्रयास गरिरहेका छन् । तर, ती नेताहरु संस्थापन पक्षबाट बाहिर आउने संकेत देखिँदैन । भावी नेतृत्वको लागि दुवैले टिम खडा गर्न सकेका छैनन् ।
देशको परिस्थितिलाई हेरेर एमाले नेतृत्व आन्तरिक प्रतिस्पर्धा नगरी सर्वसम्मत चयन गर्नुपर्ने आवाज पनि नेता, कार्यकर्ताबीच उठिरहेको छ । तर, केन्द्रीय प्रतिनिधि छनोटको अवस्था हेर्दा दुवैतिर बराबरजस्तै भएको छ । पूर्वराष्ट्रपति भण्डारीसहित एमालेका केही नेताहरु ओलीको विरुद्धमा लागेका छन् भने अधिकांश नेताहरु ओलीको पक्षमा उभिएका छन् । त्यसले गर्दा पनि एमालेको भावी अध्यक्षमा ओली र पोखरेलबीच कसले वाजी मार्छन् भन्ने एकिन गर्न सकिएको छैन ।
एमालेकै जनवर्गीय संगठनभित्र पनि एकले अर्काको विश्वास जित्न नसक्दा प्रतिनिधि चयनमा भोटिङ भएको थियो । नेपालको राजनीतिक अवस्थालाई मजबुद बनाउनको लागि पनि एमालेभित्र नेताहरु एकआपसमा मतभेद नगरी सर्वसम्मत नेतृत्व चयन गर्नुपर्ने आँकलन सर्वसाधारणले गर्न थालेका छन् । एमालेभित्र मात्रै नभएर नेपाली कांग्रेस, तत्कालीन माओवादी, एकीकृत समाजवादीजस्ता पार्टीमा नेताहरुकै मतभेदको कारण पार्टीहरु गाभिने र बिलय हुने अवस्था आएको छ ।
त्यसले गर्दा पनि अन्य पार्टीहरुको पाठ सिक्दै एमालेले सर्वसम्मत नेतृत्व चयन गर्न पहल गर्नुपर्ने आजको आवश्यकता हो । यदि सर्वसम्मत नेतृत्व चयन हुन नसकेको खण्डमा आगामी निर्वाचनमा पार्टीलाई असर पर्ने देखिन्छ । विगत लामो समयदेखि गुट र फुटसँगै टिकट वितरणमा नातावाद, कृपावाद हावी भएकै कारण निर्वाचनमा एमालेले बहुमत ल्याउन सकेको छैन ।
यदि पार्टीभित्र गुट, उपगुट खडा नगरी निर्वाचनमा होमिएको थियो भने एमालेले पहिल्यै बहुमत ल्याउने थियो । टुट र फुटको बाबजुद पनि एमाले पहिलो वा दोस्रो पार्टी बन्दै आएको छ । त्यसको पाठ सिक्दै ११ औं महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्नुपर्ने आवश्यक छ ।

