मुख्यमन्त्री समेत रहेका लामाले विश्वासको मत गुमाएपछि संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ता

राजनीति समाचार

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताका लागि मुख्यमन्त्रीसमेत रहेका बहादुर सिंह लामाले पनि मनोनयन दर्ता गराएका छन् ।

मुख्यमन्त्रीसमेत रहेका बहादुर सिंह लामाले विश्वास गुमाएपछि बागमती कांग्रेसमा दलको नेताको चयन आज हुन लागेको हो । यसैक्रममा बुधबार हेडौँडास्थित कांग्रेस संसदीय दलको कार्यालयमा पुगेर मुख्यमन्त्री लामाले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

उनको प्रस्तावकमा तिर्थ लामा र रामकृष्ण चित्रकार छन् भने समर्थकमा कुन्दन राज काफ्ले र रामकुमार पहाडी रहेका छन् । निर्वाचन समितिका संयोजक हरिशरण श्रेष्ठका अनुसार निर्वाचन कार्यक्रम अन्तर्गत उम्मेदवारको मनोनयन दर्ता ११ बजेसम्म हुनेछ भने उम्मेदवारको प्रारम्भिक नामावली ११ः३० बजे प्रकाशित गरिनेछ र उम्मेदवारको नाम फिर्ता दिने समय दिउँसो १२ बजेसम्म तोकिएको छ । दिउँसो १ बजे अन्तिम उम्मेदवारको नामावली प्रकाशन गरिने छ भने मतदान सोही दिन दिउँसो २ बजेदेखि ३ बजेसम्म हुनेछ ।

संसदीय दलको नेताको निर्वाचन प्रक्रियाको मतदानका कार्य कांग्रेस बागमती प्रदेश संसदीय दलको कार्यालय, हेटौँडामा हुनेछ भने मतदानका लागि प्रदेशसभा सचिवालयबाट जारी गरिएको परिचय पत्र अनिवार्य गरिएको छ ।

संसदीय दलको नेता चयन गर्न कांग्रेस प्रदेश कार्यसम्पादन समितिले प्रदेश सहमहामन्त्री हरिशरण श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति बनाएको छ । साथै निर्वाचन समितिमा प्रदेश सहमहामन्त्रीद्वय ऋषिराम घिमिरे र जीवन डंगोल सदस्य छन् । यसअघि लामाविरुद्धको अविश्वास प्रस्तावमा मतविभाजन हुँदा उनले विश्वास गुमाएका थिए । इन्द्रबहादुर बानियाँले पनि आफ्नो उम्मेदवारी दर्ता गराई सकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *