कुलिङ पिरियडमा हेरफेर प्रकरणको छानबिन प्रतिवेदन तयार

राजनीति समाचार

काठमाडौं । कुलिङ पिरियड प्रकरण बारे संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा अध्ययन तथा छानबिन गर्न गठित विशेष समितिले निष्कर्ष निकालेको छ ।

सोमबारदेखि लगातार मंगलबार बिहानसम्म बसेकोको समेतको बैठकले सर्वसम्मत निष्कर्ष निकालेको हो । समितिले विधेयकमा हस्ताक्षर गर्ने राज्यव्यवस्थ समितिका सभापति रामहरि खतिवडा र समितिका सचिव सुरजकुमार दुरा यस प्रकरणमा नैतिक रुपमा जिम्मेवार रहेको निष्कर्ष निकालेको समितिका सदस्यहरुले जानकारी दिएका छन् । साथै यस प्रकरणमा मुख्यसचिवदेखि संघीय मामिला मन्त्रालयका सचिव, कानुन मन्त्रालयका सचिव, प्रधानमन्त्री कार्यालयका कानुन सचिवहरूले कुलिङ पिरियडको व्यवस्था हटाउन सार्वजनिक रुपमा दबाब दिएको, समितिले बोलाउँदा बयानका लागि नआएको घटना क्रम देखिएकाले उनीहरुको समेत कानुन निर्माणमा प्रभावित पर्ने भूमिका देखिएको समितिको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिनिधिसभाले समिति असार २३ मा गठन गरेको यो समितिको संयोजक कांग्रेस सांसद जीवन परियार रहेका छन् भने सदस्यमा काँग्रेसबाट सुशिला थिङ, एमालोबाट नारायण आचार्य र ईश्वरी घर्ती, माओवादीबाट माधव सापकोटा, रास्वपाबाट गणेश पराजुली र राप्रपाबाट रोशन कार्की रहेका छन् । समितिको प्रतिवेदन आजै दिउसो १ बजे बस्ने प्रतिनिधिसभामा पेस गर्ने तयारी गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *