काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अर्बौ बजेट छुट्याए तापनि विकास निर्माणका कामहरु भने सधैं अलपत्र परिरहेका छन् । भौतिक मन्त्री जुनसुकै पार्टीबाट बने तापनि सडक विभागका महानिर्देशकदेखि आयोजना प्रमुखहरु फेरबलद गर्ने, आयोजनालाई प्रभावित पार्ने घरजग्गाको मुआब्जा दिने रकममा ठेकेदार, सचिव, महानिर्देशक र आयोजना प्रमुखहरुको सेटिङमा भ्रष्टाचार हुने कारणले गर्दा ठूला–ठूला राष्ट्रिय गौरवका आयोजनाहरु विगत लामो समयदेखि अलपत्र परेका छन् । आयोजना सम्पन्न गर्न ढिलासुस्ती भएपछि लागत पनि त्यत्तिकै बढ्ने गरेका छन् ।
खासगरी आयोजनाको स्टमेट तयारीमै अर्बौंको चलखेल हुने गरेको कारणले पनि भ्रष्टाचारको शृंखला बढेर गएको छ । अधिकांश सडक आयोजनाहरुको लागत बढेसँगै भ्रष्टाचार पनि बढ्ने गरेको छ । राष्ट्रिय गौरवको आयोजनामा करोडौंको भ्रष्टाचार हुँदा पनि सम्बन्धित निकायले अनुगमन र असुन्धान गरी कारबाही गर्न सकेको छैन । अहिले जुनसुकै काम अनलाइन प्रविधिबाट भइरहेको बेला भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतका देशभरका अधिकांश राष्ट्रिय आयोजना प्रमुखहरु फाइल बोकेर मन्त्रालय र विभाग धाउने को लर्को देखिन्छ ।
दूरदराजका स्थानीय वडातहसम्म अनलाइन सिस्टमबाट कामको थालनी भइरहँदा भौतिक मन्त्राल अन्तर्गतका आयोजना प्रमुखहरु फाइल बोकेर मन्त्रालय र विभाग धाउनुपर्ने वाध्यता किन भइरहन्छ ? देशका विभिन्न भागमा रहेका आयोजना प्रमुखहरु फाइल बोकेर मन्त्रालय धाउँदा एकातिर अनावश्यक रुपमा आयोजनाको पैसा खर्च हुने अर्कोतिर काममा ढिलासुस्ती हुँदै आएको छ । पटक–पटक मन्त्री फेरिँदा आफ्नो फेबरको सचिव, महानिर्देशक र आयोजना प्रमुख फेर्ने कारणले गर्दा राष्ट्रिय गौरवका आयोजनाकोहरुको लागत बढ्नुका साथै काममा ढिलासुस्ती हुने गरेको छ ।
कतिपय कर्मचारीहरु शक्तिकेन्द्र धाएर करोडौं खर्च गरी महानिर्देशक र आयोजना प्रमुख बन्ने गरेका छन् । करोडौं पैसा खर्च गरेर महानिर्देशक र आयोजना प्रमुख बनेतापनि उनीहरु त्यो खर्च उठाउन भ्रष्टाचारमा लिप्त हुने गर्दछन् । कांग्रेस र एमाले गठबन्धन सरकार बनेको वर्षदिन बितेको छ । एमालेबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका देवेन्द्र दाहालले भौतिक संरचनाको काम गर्नुको सट्टा एक वर्षमा दुईजना महानिर्देशक परिवर्तन गरिसकेका छन् । एउटै मन्त्रीले एक वर्षमा दुईपटक महानिर्देशक फेर्नुपर्ने कारण के हो ? लेनदेनमा स्वार्थ नमिल्नु नै हो ।
सडक विभागका तत्कालीन महानिर्देशक रामहरि पोखरेललाई एक वर्ष पनि टिक्न नदिएर गत जेठ १२ गते पोखरेलाई हटाई विजय जैसीलाई महानिर्देशक बनाएका छन् । नवनियुक्त महानिर्देशक जैसीले पनि त्यहाँ पुग्नको लागि ठूलो धनराशी खर्च गरेको स्रोतले बताएको छ । जैसी पहिलादेखि नै विभिन्न मालदार ठाउँमा तरमार्दै आएका माहिर खेलाडी हुन् । उता मन्त्री दाहाल भने मन्त्रालयको कामभन्दा आयोजना अनुगमन, सिलान्यास,उद्घाटन र देशदौडा गरेर दिन बिताइरहेका छन् ।
अर्कोतर्फ ठूला–ठूला राष्ट्रिय गौरवका आयोजनाहरुको ठेक्कामा म्याद थप्दा लेनदेन मिल्नेको निरन्तरता म्याद थपिदिने, लेनदेन नमिलेको खण्डमा ठेक्का रद्द गरिने काम गर्दै आएका छन् । भौतिक मन्त्रालय अन्तर्गतका विभिन्न आयोजनाको लागि हेबी इक्युप्मेन्टहरु खरिद गर्दा पनि ठूलो मात्रामा भ्रष्टाचार हुने गरेको छ ।
अन्य क्षेत्रमा कार्यरत कर्मचारीले २०-३० हजार घुस लिएको भन्दै अख्तियारले रंगेहात छापा मार्ने गरेको पाइन्छ । तर, भौतिक मन्त्रालय अन्तर्गतका विभिन्न राष्ट्रिय गौरवका ठूला–ठूला आयोजनाहरुमा खरिद, विक्रीदेखि निर्माणमा हुने अर्बौंको भ्रष्टाचारका समाचार विभिन्न सञ्चार माध्यममा आइरहँदा पनि अख्तियारले त्यतातिर ध्यान दिएको पाइँदैन । यसको अर्थ हो ठूला भ्रष्टाचारका काण्डमा अख्तियारको पनि साँठगाँठ रहेको आँकलन गर्न सकिन्छ ।
भौतिक मन्त्रालय अन्तर्गतका तत्कालीन उच्च पदस्थ कर्मचारीहरुको सम्पत्ति छानविन गर्नुपर्ने माग मन्त्रालय र विभागका केही कर्मचारीहरुले गर्न थालेका छन् । तर, अख्तियार भने निदाएर बसेको अवस्था देखिन्छ । भौतिक मन्त्रालय अन्तर्गत राष्ट्रिय गौरवको आयोजनादेखि विभिन्न आयोजनाहरु निर्माण गर्नको लागि स्टेट्मेन्ट गर्दा पहिला नै अर्बौंको बजेट लाग्ने अनुमान गरी स्टेटेमेन्ट तयार गरिन्छ र त्यसैमा टेकेर व्यापक रुपमा भ्रष्टाचार हुने गरिन्छ । तर, राज्यका सम्बन्धीत निकाय तै चुप, मै चुप भएर बस्ने गरेका छन् ।

