काठमाडौं । बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले आजदेखि मानवता विरुद्धको अपराधको मुद्दामा पूर्व प्रधानमन्त्री शेख हसिना विरुद्धको आरोपको सुनुवाइ गर्ने निर्णय गरेको छ ।
यो सुनुवाइ देशको इतिहासमा पहिलो पटक राज्य टेलिभिजनमा प्रत्यक्ष प्रसारण हुनेछ । गत वर्ष अगस्ट ५ मा विद्यार्थी नेतृत्वको विशाल विरोध प्रदर्शनपछि सत्ताबाट हटाइएकी हसिनाले धेरै मुद्दाहरूको सामना गरिरहेकी छिन्, जसको सुनुवाइ अहिलेसम्म क्यामेराबाट टाढा राखिएको छ ।
न्यायाधिकरणको यो निर्णयले यो परम्परा तोड्ने छ । फेब्रुअरी १८ मा, तीन सदस्यीय न्यायाधिकरणले हसिना विरुद्धको अनुसन्धान अप्रिलसम्ममा पूरा गर्न आदेश दिएको थियो । राज्य समाचार एजेन्सी बीएसएसका अनुसार, अभियोजन पक्षले जुलाई(अगस्ट २०२४ मा भएको जनविद्रोहको क्रममा मानवताविरुद्धको अपराधको आरोप आज न्यायाधिकरणमा पेश गर्नेछ । विद्यार्थीहरुको नेतृत्वमा भएको विरोध प्रदर्शन पछि हसिनाको अवामी लिग सरकार अगस्ट ५, २०२४ मा अपदस्थ गरिएको थियो ।
न्यायाधिकरणले हसिनाविरुद्ध पहिले नै पक्राउ वारेन्ट जारी गरिसकेको छ, जबकि अन्तरिम सरकारले उनको सुपुर्दगीको लागि भारतलाई कूटनीतिक नोट समेत पठाएको छ । जुलाई,अगस्ट २०२४ को हिंसामा सयौं मानिसहरूको मृत्यु भएपछि हसिना सरकारका अधिकांश वरिष्ठ नेताहरूलाई पक्राउ गरिएको थियो । संयुक्त राष्ट्रसंघको एक रिपोर्ट अनुसार, गत वर्ष जुलाई १५ देखि अगस्ट १५ सम्म लगभग १४ सय मानिसहरू मारिएका थिए ।