काठमाडौं । ‘नाइमा मोबिलिटी एक्स्पो-२०२५’ को उद्घाटनमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निजी क्षेत्रको मनोबल बढाउन सरकार स्थिर नीतिको पक्षमा रहेको बताएका छन् ।
२५ साउनसम्म चल्ने ‘नाइमा मोबिलिटी एक्स्पो-२०२५’ प्रदर्शनीको उद्घाटन कार्यक्रममा अर्थमन्त्री पौडेलले निजी क्षेत्रको मनोबल कसरी उठाउने, आत्मविश्वास र रोजगारी सिर्जना कसरी गर्ने भन्नेतर्फ सरकारको ध्यान रहेको उल्लेख गरेका थिए । गुणस्तरीय सडक पूर्वाधार निर्माणलाई तीव्र गतिमा अघि बढाउने सरकारको अभियानमा निजी क्षेत्रको पनि साथ रहनेमा आफू विश्वस्त रहेको उनले बताएका थिए ।
अटोमोबाइल क्षेत्र नेपालको आर्थिक वृद्धि र रोजगारी सिर्जनाको महत्त्वपूर्ण इन्जिन भएकोले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)सँगको सहकार्यमा दक्ष जनशक्ति विकासमा लगानी गरिरहेको र यसले नेपाली युवाका लागि समावेशी एवं भविष्य उन्मुख रोजगारी सुनिश्चित गरेको नाइमाले जनाएको हो । अटोमोबाइल क्षेत्र र यातायातसम्बन्धी विषयको विकासमा यस क्षेत्रले प्रत्यक्ष–अप्रत्यक्ष रुपमा १२ लाख ४० हजारभन्दा बढीलाई रोजगारी दिएको र कुल गार्हस्थ्य उत्पादनमा ७.१३ प्रतिशत योगदान पुर्याएको छ । ५५ लाखभन्दा बढी सवारी दर्ता भएको यस क्षेत्रले बिक्री, मर्मत, लजिस्टिक, पूर्वाधारलगायतका क्षेत्रमा रोजगारी सिर्जना गरिरहेकोले एक्स्पोमा ५० ब्रान्डका सवारीका साथै ३५ वटा नयाँ भेरिएन्टका सवारी सार्वजनिक गरिएको आयोजक नाइमाले जनाएको छ ।
प्रदर्शनीस्थल दुई र चारपांग्रे सवारीसाधनले भरिएको छ । एक्स्पोमा १७ ब्रान्डका दुईपांग्रे सवारी राखिएको छ । चाडबाड लक्षित गरेर आयोजित एक्स्पोमा राखिने सवारीसाधनमा कम्पनीहरूबीच छुट दिन प्रतिस्पर्धा छ । एक्स्पोमा घोषणा गरिने यस्तो छुट चाडबाड अवधिभर जारी रहने कम्पनीहरूले बताएका छन् ।

