काठमाडौं । ललितपुरका विभिन्न स्थानबाट परीक्षणका लागि संकलन गरिएका पानीका २८ नमुनामध्ये ११ मा फिकल कोलिफर्म पाइएको छ ।
ललितपुर जनस्वास्थ्य कार्यालयका अनुसार दूषित नमुना गोदावरी नगरपालिका र माहांकाल गाउँपालिका क्षेत्रका खानेपानी स्रोत संकलन गरिएको हो । स्वास्थ्य शाखाले दिएको विवरण अनुसार ८ साउनमा गोदावरी नगरपालिकाबाट ल्याइएका १० पानीको जारमध्ये ६ मा कोलिफर्म भेटिएको थियो ।फिकल कोलिफर्म पानीमा मानव वा जनावरको दिसा मिसिएको संकेत हो ।
वर्षात्को समयमा यस्तो दूषित पानी पिउँदा टाइफाइड, झाडापखाला र हैजासम्मका रोग फैलन सक्छन् । त्यसैले पानीलाई उमालेर अथवा पानीलाई शुद्वीकरण गर्ने औषधीको प्रयोग गर्नुपर्दछ । पछिल्लो समय काठमाडौं, ललितपुर, भक्तपुर जिल्लाहरुमा पिउन प्रयोग गरीने जार, इनार,कुवाका पानीमा दूषित पानीको मात्रा उच्च रहेको छ । त्यसैले सरसफाइमा ध्यान दिनु नै हैजा रोकथामको प्रमुख विकल्प रहेको छ ।
