काठमाडौं । राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले निजामती विधेयकमाथि छलफल अगाडि बढाउँदैछ । यो विधेयकमा १६ समूहमा ४३ जना सांसदको संशोधन प्रस्ताव राखेका छन् ।
राष्ट्रिय सभामा रहेका एमालेका ५ जना सांसदले कुलिङ पिरियडको प्रावधान नै हटाउने गरी संशोधन प्रस्ताव राखेका छन् । यस्तो संशोधन प्रस्ताव राख्ने संशोधनकर्ता सांसदहरू गोपाल भट्टराई, इन्दिरा देवी गौतम, रुक्मिणि कोइराला, सुमित्रा बि।सी र सोनाम गेल्जेन शेर्पा रहेका छन् । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका सांसदहरूले कुलिङ पिरियड दुई वर्ष नै राख्नुपर्ने भनेर संशोधन हालेका छन् ।
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले कुलिङ पिरियडको अवधि तीन वर्ष राख्नुपर्ने भनेर संशोधन हालेका छन् । नेकपा एकीकृत समाजवादीका सांसदहरूले पनि कुलिङ पिरियडको प्रावधान प्रतिनिधि सभाबाट पारित भएर आएअनुसार दुई वर्ष राख्नुपर्ने वा त्यो भन्दा बढी समय समेत राख्न सकिने बताउँदै आएका छन् ।
