काठमाडौं । राजपरिवारको नाममा रहेका करोडौं मूल्य पर्ने सयौं तक्मा अहिले बेवारिसे अवस्थामा राखिएको छ । यी महत्वपूर्ण सम्पत्तिहरु संघ सरकार मातहतका कुनै कार्यालय नराखी बाग्मती प्रदेश मातहतको उद्योग तथा वाणिज्य कार्यालयमा पोका पारेर राखिएको छ । पाटन औद्योगिक क्षेत्रभित्र अवस्थित सो कार्यालयमा राखिएका तक्मामा जोडिएका सुन,चाँदी,हिरा लगायतका महत्वपूर्ण धातुहरु निकाल्ने र बेच्ने काम हुन लागेको भन्दै अख्तियारदेखि राष्ट्रिय सतर्कता केन्द्रसम्मलाई गुहारिएको छ।
बाग्मती प्रदेशअन्तर्गत उद्योगका कर्मचारीको लागि यो कार्यालय भन्सारजस्तै हो । एक वर्षअघि उक्त कार्यालयको प्रमुख रहेका यादव आचार्यलाई त्रिपुरेश्वरतिर पठाएर उद्योगमन्त्री सुकमाया तामाङको नातेदार सन्तोष मोक्तानलाई कार्यालय प्रमुखमा खटाइएको छ । उनै सन्तोषदेखि कार्यालयका स्टोर किपर (छैंटौं तहका) विश्वनाथ काफ्लेहरुको मिलेमतोमा सुन,चाँदी गायब पार्न खोजिएको भन्दै अख्तियार गुहारिएको हो ।
सो कार्यालय स्रोतका अनुसार, राजपरिवारको नाममा रहेका १८९ थरी तक्माका हजारौं परिमाण ०७१ साल साउन १४ देखि पाटन औद्योगिक क्षेत्रभित्र राखिएका छन् । जसमा महेन्द्रमाला १ थान, नेपाल प्रताप भाष्कर २ सेट, नेपाल प्रताप भाष्कर स्वल्पाकार १० सेट, नेपाल प्रताप भाष्कर ५ थान, महागौरव तेजश्वी त्रिभुवन श्रीपद पहिला २ थान, महागौरव तेजश्वी त्रिभुवन श्रीपद पहिला स्वल्पकार ४ लगायत उक्त कार्यालयका नयाँ, पुराना र भाँचिएका दराजमा पोका पारेर राखिएको छ । यसरी राखिएका तक्माबाट सुन, हिरा निकाली नक्कली तक्मा बनाउने काम धमाधम भइरहेको र सो काममा प्रमुख सन्तोष मोक्तान (नवौं तह) र स्टोर किपर विश्वनाथ काफ्लेहरुको मिलेमतो रहेको भन्दै सरोकारवाला निकायहरुले अख्तियार गुहार्न थालेका छन् ।
यस अघि सो कार्यालयको हस्तकला हेर्दै आएका अधिकृत (आठौ तह) ले । उनलाई थाहा पत्तै नदिई कार्यालय प्रमुख मोक्तान र काफ्लेहरुको मिलेमतोमा हस्तकलाको तक्मा दराजको चाबी नै फोरेर उनलाई जिम्मेवारविहिन बनाइ गडबडी गर्न खोजिएको भन्दै सरोकारवाला निकायहरुलाई गुहारिएको हो । कार्यालय स्रोतका अनुसार गत असार ६ गते कि हाउस सातदोवाटोबाट मान्छे ल्याइ डाइरेक्ट दराज फुटाएर औद्योगिक क्षेत्रको ६ थान सुनको तक्मा १० प्रतिशत सुनमा मिसावट गरी बनाउन खोजिएको थियो । सोही बिषयमा जिल्ला प्रशासन कार्यालय ललितपुरमा उजुरी समेत पुगिसकेको छ ।
राजपरिवारको तक्माबाट सुन,चाँदी,हिरा निकाल्न खोज्ने कर्मचारीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ऐन २०५९ को दफा ६,७,८,९ विपरित भएको हुँदा र उनीहरु अहिले पनि सोही पदमा बहाल रहेका हुँदा प्रमाण मेटाउने अख्तियारको ऐन ४८ को दफा १६,भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३१ बमोजिम तत्काल हिरासतमा लिइ गम्भीर अनुसन्धान तथा तहकीकात गरी अख्तियार दुरुपयोग अनुसन्धानको ऐनको दफा १८ भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३६ अनुसार मुद्धा चलाउन उजुरीमा माग गरिएको छ ।
स्रोतका अनुसार यस अघि समेत यस्तै बदमासीको चाल पाए पछि बागमती प्रदेशका तत्कालीन सचिव महादेव पन्थ अनुमगनमा आइ कार्यालय निरीक्षण गरी तक्माको वनोट (फोटो) र संख्या कम्युटरमा राख्ने काम भएको थियो । तर उनी सरुवा भएर हिडेसँगै फेरि बदमासी गर्न खोजिएको हो । सोही कार्यालयमा तालिम तथा अनुदानका नाममा ५० प्रतिशतमात्र काम गरी बाँकी ५० प्रतिशत बजेट बाँडेर लिइएको कार्यालय स्रोतको भनाई छ । यसमा विचौलियाको काम शान्ती महर्जनले गरिरहेकी छिन् ।
झण्डै ३ करोड बजेट रहेको तालिम तथा अनुदान शीर्षकको काममा सबै तालिम करार तथा विचौलियासँग समन्वय गरी आर्थिक बर्ष ०८१÷८२ को कार्यक्रम गर्दाखेरी भेटिएको जनाइएको छ । हस्तकला तर्फको आर्थिक विवरण नबनाइ कोषको पैसा समेत हिनामिना गरेको र अन्य बुझबुझारथ देखि तलब भत्ता हिसाब गरी घोटाला भएको हुँदा यो प्रकरणमा निश्पक्ष छानबिन भएको खण्डमा मन्त्रीका भाञ्जोदेखि स्टोर किपर काफ्ले र विचौलियाका काम गर्ने पात्रहरुको हातमा हतकडी लाग्ने पक्का भएको जानकारहरु बताउँछन् ।

