काठमाडौं । नेपाली कांग्रेसबाट गृहमन्त्री बनेका रमेश लेखकको दिनप्रतिदिन कद घट्दै गएको छ । मन्त्री लेखकले न त भुटानी शरणार्थी काण्डमा मुछिएका व्यक्तिहरुलाई कारबाही गर्न सके न त शान्तिसुरक्षा नै कायम गर्न सके । जेलभित्रको विवादले हिंसात्मक रुप लिन लागेको सूचना चार दिन अगाडि नै सार्वजनिक हुँदा पनि त्यसलाई बेवास्ता गर्दा एकजना कैदीको मृत्यु हुनुको साथै दर्जनौं कैदीबन्दी घाइते भएका छन् ।
अर्कोतिर मन्त्री लेखककै कारण भ्रष्टाचारको शृंखला बढ्दै गएको छ । मानव अधिकारको व्यापक हनन् भएको छ । राजनीतिक पार्टीका नेताहरु जग्गा काण्डदेखि ठूला–ठूला भ्रष्टाचारका काण्डमा मुछिँदा पनि कारबाहीको दायरामा ल्याउन सकेका छैनन् । उल्टै बरु भुटानी शरणार्थी काण्डको फाइल अगाडि बढाउने प्रहरी दान बहादुर कार्कीलाई सरुवा गरेर गाईजात्रा देखाएका थिए । मन्त्री लेखकले गृहमा गाईजात्रा मात्रै देखाएका छैनन् प्रहरी संगठनलाई निकम्मा बनाउँदै लगेका छन् । गृहप्रशासनको बद्नाम गर्नुका साथै आफै भिजिट भिषा काण्डमा मुछिन पुगेका थिए ।
मन्त्री लेखकमाथि भिजिट भिषा काण्डको प्रश्न उठेपछि छानविन समिति समेत बनाइएको थियो । त्यो छानविन समितिले पनि मन्त्री लेखकलाई चोख्याउने काम गरेको छ । तर, भिजिट भिषाको नाममा विचौलिया र कर्मचारीले मात्रै होइन विभिन्न एयरलाइन्स कम्पनी, ट्रालभ एजेन्सी, मन्त्री, सांसद, उच्चतहका कर्मचारी र व्यापारीहरुले पनि विदेश भ्रमण गराउने नाममा आफन्त र आसेपासेलाई विदेशमै छाडी आउने गरेका छन् ।
उनीहरुले आफूसँग विदेश लगेर छाडिने व्यक्तिहरुसँग मोटो रकम पनि असुल्ने गरेका छन् । त्यस्ता व्यक्तिहरुको पहिचान गरी मन्त्री लेखकले कारबाही गर्न सकेका छैनन् । उल्टै तिनै विचौलियाहरुसँग मिलेमतो गरी आर्थिक लाभ लिने गरेको स्रोतले उल्लेख गरेको छ । मन्त्री लेखकसँगै गृहसचिव गोकर्णमणि दुवाडीको कमाउ धन्दा पनि कम छैन । कमाउ धन्दा पनि किन नगरुन् दुवाडीको जागिरे अवधि आगामी मंसिरमा समाप्त हुँदैछ । जागिर छोटिँदै गएपछि डुवाडी कमाउ धन्दामा सक्रिय भएको स्रोतको दावी छ । त्यसको अर्थ हो अधिकांश सीडीओ सरुवा गर्दा सिनियर सह–सचिवलाई बाइपास गरी उपसचिवलाई प्राथमिकता दिनु ।

