नेपालका कम्युनिस्ट नेताहरु सत्तालिप्सा भएपछि वामपन्थीहरुको अस्तित्व नै संकटमा पर्ने देखिन्छ । किन कि यतिबेला नेपालका वामपन्थीहरुमा देखिएको ध्रुवीकरणले त्यसको संकेत गर्छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता जनार्दन शर्माबीच विवाद हुँदा पार्टी नै तहसनहस हुने देखिएको छ । पार्टीभित्र समस्या देखिएपछि नेता शर्मालाई अध्यक्ष प्रचण्डले पार्टीभित्रको गोपनीयता बाहिर छताछुल्ला नपार्न चेतावनी दिएका थिए ।
त्यसैगरी एकीकृत समाजवादी पार्टीमा अध्यक्ष माधव कुमार नेपाल र वरिष्ठ नेता झलनाथबीच पानी बारबारको स्थिति सिर्जना हुँदै गएको छ । अर्कोतिर समाजवादी पार्टीकै अर्का नेता द्वय बेदुराम भुसाल र घनश्याम भुसालबीच पनि टकराब चलिरहेको छ । समाजवादीकै प्रभावशाली नेतृत्व रामकुमारी झाक्रीले पार्टीभित्रका विकृति, विसंगतिविरुद्ध मिडिायावाजी गरिरहेकी छिन् । उता वैद्य समूहको माओवादी पार्टीमा पनि नेताहरुबीच जुँगाको लडाईँ भइरहेको छ ।
त्यसैगरी विप्लबले नेतृत्व गरेको माओवादी पार्टीभित्र पनि महासचिव विप्लब र नेता धर्मेन्द्र बास्तोलाबीच लडाईँ भएपछि विप्लब माओवादी केन्द्रतिर आकर्षित भएका छन् भने बास्तोल गुमनाम जस्तै भएका छन् । उता, अन्य कम्युनिस्ट घटकहरुको पनि नेताकै कारण हालत नाजुक बन्दै गएको छ । यता कम्युनिस्टहरुमा मियोको रुपमा स्थापित नेकपा एमालेभित्र पनि नेताहरुबीच भित्रभित्रै भुसको आगोझैं असन्तुष्टि बढिरहेको छ ।
खासगरी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्किएपछि एमाभित्र विवाद सुरु भएको हो । नेताहरुबीचको पदलुप्त र व्यक्तिगत स्वार्थका कारण नेकपा एमालेभित्र विवाद झागिँदै गएको छ । पहिला अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीचको घमण्डले गर्दा पार्टी नै विभाजित भएको थियो । अहिले पूर्वराष्ट्रपति भण्डारी एमालेमा फर्किएपछि फेरि एमालेभित्र विवाद चुलिएको छ । पार्टी सचिवालय, केन्द्रीय सदस्य र पोलिट ब्यूरोले भण्डारीलाई एमालेभित्र प्रतिबन्ध लगाए तापनि पहिला नै पार्टी सदस्यता भण्डारीले पहिला नै नविकरण गरेको भन्दै भण्डारीले थापागाउँमा सम्पर्क कार्यालय खोलेर पार्टीको गतिविधि बढाउन थालेकी छिन् ।
यसले एमालेभित्र दुई धार प्रष्ट रुपमा देखिन थालेको छ । पार्टीभित्र विवाद चुलिँदै जाने हो भने आगामी ०८४ को निर्वाचनमा एमालेलाई ठूलो नोक्सान हुने देखिन्छ । त्यसकारण एमालेभित्रको विवाद समयमै मिलाउन आवश्यक छ । यदि पूर्वराष्ट्रपति भण्डारी छुट्टैले सम्पर्क कार्यालय खोलेर गतिविधि अगाडि बढाउने र एमाले अध्यक्ष ओली अर्कोतिर गतिविधि गर्ने हो भने कार्यकर्ताबीच मत विभाजन हुने देखिन्छ । कार्यकर्ता विभाजन भएको खण्डमा ०८४ को निर्वाचनमा ठूलो असर पार्ने देखिन्छ । त्यसैले दुवैपक्षबीच समन्वय गरी पार्टीको आन्तरिक विवाद समाधान गर्न जरुरी छ ।

