काठमाडौं । नेपाल भ्रमाणमा आएका भारतीय विदेशसचिव विक्रम मिश्रीले नेपाली सेनालाई ६ वटा स्ट्राइकिङ भेइकल उपहार दिएका छन् ।
नेपाली सेनाको मुख्यालय जंगीअड्डा पुगेर उनले ‘लाइट स्ट्राइकिङ भेइकल’ दिएका हुन् । जंगीअड्डाका एक उच्च सैनिक अधिकृतका अनुसार, सैन्य सामग्री हस्तान्तरण गर्ने केही अगाडिदेखि नै तयारी थियो । विदेशसचिव आएको सन्दर्भमा उनी आफैं जंगी अड्डामा पुगेर ६ वटा स्ट्राइकिङ भेइकल उपहार सहित ब्रिडिङ प्रयोजनका लागि २ वटा सैनिक कुकुरको साथै ६ वटा सैनिक घोडा पनि हस्तान्तरण गरेका हुन् ।
सोही अवसरमा मिश्रीले केही स्वास्थ्य सामग्रीहरु समेत हस्तान्तरण गरेका छन् । सामग्री हस्तान्तरण गर्नुअघि जंगीअड्डामा प्रधानसेनापति अशोकराज सिग्देलसँग मिश्रीले दुई पक्षीय हित र सैन्य सम्बन्धबारे कुराकानी गरेको श्रोतले उल्लेख गरेको छ । आईतबारै उनले प्रधानमन्त्री ओली, राष्ट्रपति रामचन्द्र पौडेल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, विपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरिसकेका छन् । परराष्ट्रमन्त्री आरजु राणा देउवासँग पनि हिजै उनको भेट भयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको निम्तो दिन आर्इतबार दुई दिने भ्रमणमा काठमाडौंमा आएका विदेशसचिव मिश्री दिउँसो साढे २ बजे स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

