तस्कर र माफियाको बिगविगी मन्त्री उठाउनमै बिजी

राजनीति समाचार

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री जुनसुकै पार्टीबाट बने तापनि उद्योगधन्दा र कलकारनाहरुलाई चलायमान बनाउन सकेका छैनन् । बन्द रहेका सरकारी उद्योगधन्दाहरु सञ्चालन गर्न कुनै मन्त्रीले पहल गरेको पाइँदैन । बरु भएका उद्योगहरुलाई पार्टीका कार्यकर्ता थन्क्याउने र आफ्ना आसेपासेलाई भर्ना गरी कमाइखाने भाँडो बनाउँदै लगेका छन् ।

एमालेबाट उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री बनेका दामोदर भण्डारीले पनि बन्द भएका उद्योगहरु सञ्चालनमा ल्याउन कुनै पहल कदमी गरेको पाइँदैन । भण्डारी मन्त्री भएको वर्षदिन नाघिसक्दा पनि नेपाल सरकारको नाममा रहेको उदयपुर सिमेन्ट कारखाना र हेटौंडा सिमेन्ट उद्योग सञ्चालनको लागि कुनै पहल गर्न सकेका छैनन् । हेटौंडा सिमेन्ट उद्योगकोसम्पत्ति विक्रीवतरण गरेर कर्मचारीहरुले तलब खाइसकेका छन् । भौतिक संरचना र सिमेन्ट उद्योगको नाममा रहेको जग्गा पनि हिनामिना हुँदै गएको छ । उदयपुर सिमेन्टको हालत पनि त्यही छ ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रालयको काम भनेको उपभोक्ता सामग्रीको आपूर्तिलाई सहजीकरण गर्ने, औद्योगिक क्षेत्रको वातावरण सिर्जना गरी अन्तर्राष्ट्रिय व्यापारको सहजीकरण गर्ने, आफ्नो भौतिक सम्पत्तिको संरक्षण गर्ने, पूर्वाधारको व्यवस्थापन गरी सेवाप्रवाह गर्ने लगायतका हुन् । त्यसैगरी रणनीति सडक सञ्चालन गर्ने, सडक सञ्जालमा जोडिएका जिल्लाहरुमा ढुवानी र अनुदानको व्यवस्था गर्नुपर्ने, नीतिमा सुधार ल्याउनुपर्ने जस्ता काम उद्योगमन्त्री भण्डारीले गर्न सकेका छैनन् ।

उल्टै निजी क्षेत्रका उद्योगी र व्यापारीहरुसँग मिलेमतो गरी व्यापारीलाई फाइदा पु¥याउने राज्यलाई घाटा पु¥याउने काम गर्दै आएका छन् । बजारमा अखाद्य वस्तुहरुको बिगविगी बढिरहेको छ । चाडवाड सुरु भएसँगै खाद्यान्नमा अखाद्य वस्तु मिसावट गरी विक्रीवितरण भइरहेका छन् । हुँदाहुँदा व्यापारीहरुले सामाजिक सञ्जालमा आकर्षक विज्ञापन गरेर उपभोक्ता ठगिरहेका छन् । यस विषयमा मन्त्री भण्डारी गुमनाम बन्न पुगेका छन् ।

उता, कम्पनी रजिष्ट्रार र उद्योग वाणिज्य तथा आपूर्ति विभागमा कर्मचारी परिवर्तन गर्दा सेवाग्राही मारमा परिरहेका छन् । कम्पनी रजिष्ट्रारमा देवीप्रसाद सुवेदीलाई खटाइएको छ । सुवेदीले सबै कर्मचारीहरुलाई दिनप्रतिदिन तालिम दिँदै कामको जिम्मेवारी दिन थालेका छन् । त्यसले गर्दा सेवाग्राहीहरु सेवा नपाएर भौतारिइरहेका छन् । उता वाणिज्य तथा आपूर्ति विभागका महानिर्देशक कुमार दाहाल कतिबेला कहाँ पुगिने हो भन्दै अत्तालिइरहेका छन् ।

कर छली गर्ने उद्योगी, व्यापारी र कालो बजारी गर्नेहरुलाई कारबाही गर्दा महानिर्देशक दालहामाथि तस्करहरु खनिन थालेका छन् । त्यसले गर्दा महानिर्देशक दाहालको जागिर धरापमा पर्ने देखिन्छ । उता मन्त्री भण्डारी भने यिनै कारबाहीमा परेका उद्योगी र व्यापारीहरुबाट अकुत सम्पत्ति आर्जन गर्न लागिपरेको स्रोतले उल्लेख गरेको छ ।

अर्कोतिर मन्त्री भण्डारी उठ्तीपुठ्तीमा रमाइरहँदा उनका स्वकीय सचिव लोकेन्द्र भण्डारी जनै पूर्णेको दिन हातमा डोरो र काँधमा जनै भिरेर नाइट क्लबमा अर्धनग्न तरुनीलाई बोकेर नाचिरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यसले के देखाउँछ भने नेपालका जिम्मेवार निकायमा पुगेका व्यक्तिहरु देश र जनताको हितमा काम गर्ने नभई मौका पाउनासाथ मोजमस्तीमा रमाउने गर्दछन् । यसमा नेता, मन्त्री, कर्मचारी र व्यापारीहरु रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *