काठमाडौं । अमेरिकास्थित अन्तर्राष्ट्रिय गैरसरकारी संस्था ‘डाइरेक्ट रिलिफ’ को सहयोग तथा ‘वान हार्ट वर्ल्डवाइड’ को समन्वयमा क्यान्सरसम्बन्धी औषधिसहितका स्वास्थ्य सामग्री आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरिएको छ ।
औपचारिक रुपमा आज मन्त्रालयलाई हस्तान्तरण गरिएका ती औषधी र स्वास्थ्य सामग्रीहरु आजै क्यान्सर उपचारमा संलग्न चार अस्पतालहरु विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर, भक्तपुर क्यान्सर अस्पताल, भक्तपुर, सुशील कोइराला क्यान्सर अस्पताल, बाँके र वीर अस्पताल काठमाडौंलाई हस्तान्तरण गरिएको हो।
स्तन क्यान्सर, प्लाक सोरियासिस, अल्जाइमर आदि स्वास्थ्य समस्यामा प्रयोग हुने यी औषधि र स्वास्थ्य सामग्रीहरू यी चार अस्पतालहरूमा क्यान्सरका बिरामीहरूलाई निःशुल्क रुपमा उपलब्ध गराइनेछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलेसम्बन्धित निकायहरुसँगको सहयोग र समन्वयमा यी औषधि तथा स्वास्थ्य सामग्रीहरु भविष्यमा पनि निरन्तर रुपमा उपलब्ध गराउने गरी पहल भइरहेको छ ।
