आदिकवि भानुभक्त आचार्यको २१२औं जन्मजयन्तीको अवसरमा देश तथा विदेशमा विविध कार्यक्रम गरी मनाइँदै

कला-साहित्य समाचार

काठमाडौं । आज नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२औं जन्मजयन्ती देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।

पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गरेको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गरेका हुन् ।

विसं १८७१ साल असार २९ गते तनहुँ जिल्लाको चुँदीरम्घा गाउँमा जन्मिएका भानुभक्तलाई एक सामान्य घाँसीको प्रेरणाले रामायण नेपालीमा अनुवाद गर्न उत्प्रेरित गरेको इतिहास प्रसिद्ध रहेको छ । उनका ‘रामायण’ बाहेक ‘वधुशिक्षा’, ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’ जस्ता काव्यकृतिहरू नेपाली साहित्यका धरोहर मानिन्छन् ।

नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउनमा भानुभक्तको ऐतिहासिक योगदान छ । भानुभक्त ऐतिहासिक व्यक्ति भएकाले सम्पूर्ण नेपालीले उनको सम्मान गर्नुपर्ने र उनका विचारका बारेमा उठेका विवादमाथि छलफल एवं समीक्षात्मक कार्यक्रम गर्नु आजको प्रमुख आवश्यकता भएको समालोचकहरूको धारणा रहेकोछ ।

सोही अवसरमा आज भनु प्रतिष्ठान र नेपाल प्रज्ञा प्रतिष्ठानले प्रभातफेरीका साथै भानुभक्त आचार्यको प्रतिमामा माल्यार्पण र स्रष्टा सम्मान कार्यक्रम आयोजना गरेको छ । साथै भानुभक्तको जन्मजयन्ती भारतको दार्जिलिङ, सिक्किम, भुटान, बर्मालगायत नेपाली भाषाभाषी धेरै रहेका देश एवं स्थानमा पनि मनाइँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *