काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले नेपालको भूमि लिपुलेक र कालापानीबारे भारत र चीनबीच भएको भनिएको सम्झौता र त्यसप्रति नेपालको सरकारको कदमबारे सदनमा स्पष्ट जानकारी दिन माग गरेको छ।
नेपालको सहमति बिना भारत–चीनले लिपुलेक नाकालाई व्यापारका लागि प्रयोग गर्ने निर्णय गर्नु आपत्तिजनक र दुःखद भएको बताउँदै लिम्पियाधुरा, कालापानी, लिपुलेक नेपालको भूमि हो भन्ने ऐतिहासिक तथ्य र प्रमाणका आधारमा दाबी गर्दै आएको भारत र चीनलाई सहमति सच्याउन सरकारले के गरिरहेको छ भन्ने विषयमा आधिकारिक धारणा सदनलाई तत्काल दिनुपर्ने माओवादी केन्द्रले माग गरेको छ।
साथै राष्ट्रियताको संवेदनशील मुद्दामा सरकार मौन बस्न नसक्ने उल्लेख गर्दै देशको सार्वभौमिकता र अखण्डताको सवालमा सदनलाई जानकारी दिन सरकारले ढिलाइ गर्न नहुने उल्लेख गरेका छन् । नेपाल–भारत सीमामा ७२ स्थानमा विवाद र अतिक्रमण भएको अनौपचारिक तथ्यांकले देखाएको छ ।
