काठमाडौं । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा लोपोन्मुख रातोहाब्रे (रेडपाण्डा)को संरक्षणमा चुनौती बढ्दै गएको छ ।
रेडपाण्डाको बासस्थान नासिँदै गएपछि संरक्षणमा चुनौती बढेको हो । रेडपाण्डा निगालोको झाडीमा बस्ने र त्यसको टुसा खाएर बाँच्ने गर्छ । तर पछिल्लो समय निगालोको झाडी फडानी र डढेलोका कारण मासिँदा रेडपाण्डा सङ्कटमा पर्ने जोखिम बढेकामा सरोकारवालाको चासो देखिएको छ ।
खासगरी कर्णालीभन्दा पूर्वी क्षेत्रको उच्च पहाडी र हिमाली क्षेत्रमा रेडपाण्डा पाइने गर्छ । अहिले मुलुकका २३ हिमाली तथा पहाडी जिल्लामा मात्रै रेडपाण्डा पाइन्छ ।
ढोरपाटन सिकार आरक्षका अनुसार मुलुकभरमा सबैभन्दा बढी रेडपाण्डा ढोरपाटनमा रहेका छन् । अहिलेसम्म एकीन गणना नभएपनि सिकार आरक्षभित्र करिब ३०० को हाराहारीमा रेडपाण्डा रहेको छ । २०७४ सालमा सिकार आरक्षले गरेको सर्वेक्षणमा रेडपाण्डाको सङ्ख्या निकै कम भएकोमा अहिले झण्डै दुई देखि तीन सयसम्म रहेको अनुमान छ ।
रेडपाण्डाले खाने निगालोको टुसासमेत संरक्षण गर्न आवश्यक रहेको छ ।