काठमाडौं । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि आन्तरिक तयारी थालेको छ ।
प्रदेशको आर्थिक मामिला मन्त्रालयले आगामी वर्षका लागि बजेट निर्माण प्रथम चरणको काम चल्दै गरेको जनाएको हो । जसअनुसार बजेटको आकार घटाउने गरी आन्तरिक गृहकार्य भइरहेको छ ।
चालु आर्थिक वर्षका लागि प्रदेश सरकारको बजेट ३८ अर्ब ९७ करोड विनियोजन गरेको थियो । तर फागुन मसान्तसम्म कुल बजेटको ३१ दशमलव ६७ प्रतिशत मात्र खर्च भएको छ । जसमा चालु ३४ र पुँजीगत खर्च २९ प्रतिशत रहेको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ ।
अहिले ३२–३३ अर्बको हाराहारीमा बजेट ल्याउने गरी प्ररदेश सरकार लागिपरेको हो । सोही आधारमा चैत अन्तिमतिर मन्त्रालयहरूलाई सिलिङ प्रदान गर्ने तयारी भएको छ ।
चालु आर्थिक वर्षमा पाँच लाखभन्दा कम बजेट विनियोजन भएका ४ हजार ३ सय ९२ आयोजना रहेका छन् भने १० लाखभन्दा कम बजेट भएका ८ हजार २६ वटा आयोजना छन् ।