काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणका खेलहरू अब रातिमा पनि खेलिने भएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले सो कुराको जानकारी दिएका हुन् । काठमाडौंको कीर्तिपुरमा रहेको त्रिवि क्रिकेट मैदानमा हाल स्तरोन्नतिको काम भइरहेको छ । पहिलो चरणमा १५ हजार क्षमताको प्यारापिट र ६ वटा फ्लडलाइट जडान कार्य भइरहेकोले फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्ससँगको पोडकास्टमा एनपीएल त्रिवि क्रिकेट मैदानको फ्लडलाइटमा खेलिने कुरा क्यानका सचिव खड्काले गरेका थिए ।
एनपीएलको दोस्रो संस्करण आगामी नोभेम्बर-डिसेम्बरमा गर्ने तय छ भने त्यसका लागि मिनी अक्सन पनि अगस्टमा गर्ने तालिका छ । अक्सनका लागि खेलाडी दर्ता गर्ने समय पनि गएरातिदेखि सकिएको छ । अब खेलाडीहरूको अन्तिम सूची केही दिनमै सार्वजनिक हुने र अक्सनको मिति तोकिने भएको छ । तोकिएको समय (असार मसान्त)मा त्रिवि क्रिकेट मैदानको काम नसकिएपछि निर्माण कम्पनीलाई हर्जना तिराएर म्याद थप गरी काम भइरहेको छ ।

