यस वर्ष गैंडा गणनाको तयारी शुरु

विविध समाचार


काठमाडौं ।
सरकारले यस वर्ष गैंडा गणनाको तयारी गरेको छ ।

विश्वकै दुर्लभ मानिने एकसिङे गैंडा गणना यसै वर्षको फागुनरचैतसम्म गर्ने गरी आवश्यक स्रोतको जोहो गर्ने काम भइरहेको निकुञ्ज विभागले जनाएको हो । चालु आर्थिक वर्षको बजेटमा सरकारले गैंडा गणनाका लागि २० लाख रकम विनियोजन गरेको छ । सरकारसँग विभागले डेढ करोड रकम माग गरे पनि २० लाख मात्रै बजेट विनियोजन गरेको छ ।

गैंडा गणनाका लागि एक करोड ५० लाख रुपैयाँको हाराहारीमा खर्च हुने हुँदा बाँकी रकम विभिन्न अन्य सहयोगी संस्थामार्फत जुटाउने विभागको योजना रहेको छ ।
बजेट अभावमा गत वर्ष २०८१ फागुनरचैत महिना भित्र हुनुपर्ने गणना हुन सकेको थिएन । यसअघि २०७७ (सन् २०२१)साल चैत ९ गतेदेखि २७ गतेसम्म गैंडा गणना गरिएको थियो । हरेक चार चार वर्षमा गैंडा गणना गर्ने भनिए पनि विभिन्न कारणले हरेक वर्ष पछाडि धकेलिँदै आएको छ । सन् २०१५ पछि सन् २०२१ मा गणना भएको थियो । २०८१ (सन् २०२५) भित्रै हुनुपर्नेमा गणना हुन नसकेर अब सन् २०२६ मा मात्रै गैंडा गणना गरिने भएको हो ।

गैंडा गणनाका लागि करिब ५० लाख बराबरको सहयोग गर्दै आएको अमेरिकी परियोजना जल जंगल अचानक स्थगित भएपछि गत वर्ष गणना रोकिएको निकुञ्ज विभागले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *