काठमाडौं । पछिल्लो समय मन्त्रीहरु उनीहरुकै सचिवालयबाट हैरानी र बदनामी खेप्दैछन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयमा रहेर सघाइरहेका अस्कर अलीलाई बिचौलियाको काम गरेको आरोप लाग्दै आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयमा ६ जना सल्लाहकार रहेका छन् । उनीहरुका लागिमात्र बार्षिक ८० लाख बढी खर्च हुँदै आएको छ । प्रधानमन्त्रीका विज्ञ र सल्लाहकारको लामो सूचीमा कतिपय सरकारी निकायका कर्मचारी पनि छन् ।
उसो त वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थ मन्त्रालयलाई प्रयोग गरेर प्रचण्डको सचिवालयभन्दा आफ्नो सचिवालय मितव्ययी भएको प्रचार गराएको धेरै भएको छ । आव २०८०÷०८१ को तुलनामा आव २०८१÷०८२ मा प्रधानमन्त्री कार्यालयको सचिवालयको खर्च २ करोड रुपैयाँ कम खर्च भएको विवरण सार्वजनिक गरिएको थियो । प्रचण्ड प्रधानमन्त्री हुँदाको बखत सचिवालयको नाममा ६ करोड २१ लाख ३५ हजार १२७ रूपैयाँ खर्च भएकोमा ओलीको कार्यकालमा २ करोड ६ लाख ६४ हजार २५३ रूपैयाँ अर्थात् ३३.२६ प्रतिशत कम खर्च भएको विवरण सार्वजनिक गरिएको थियो ।
ओलीका सचिवालयमा पारिश्रमिकमा १ करोड ६४ लाख ६० हजार ४७९ रूपैयाँ, पोशाकमा ५ लाख ३९ हजार ९० रूपैयाँ, सञ्चार महसुलमा ६० हजार रूपैयाँ, इन्धनमा १४ लाख ९८ हजार १८७ रूपैयाँ खर्च भएको छ । त्यसैगरी, सवारी साधन मर्मतमा ५७ लाख २२ हजार ९७६ रूपैयाँ, मसलन्द तथा कार्यालय सामग्री खरिदमा १४ लाख ३६ हजार २९८ रूपैयाँ, अनुगमन मूल्यांकनमा ३३ लाख ५२ हजार ३०५ रूपैयाँ र विविधमा १ करोड २४ लाख १ हजार ५३७ रूपैयाँ खर्च भएको सार्वजनिक गरिएको छ ।
अहिले पनि प्रधानमन्त्री केपी शर्मा ओलीको सल्लाहकारहरुमा विवादित अस्गर अलीदेखि कहिल्यै जनताबाट निर्वाचित नभएका विष्णु रिमाल, राजन भट्टराई, अग्नी खरेलको टिम राखिएको छ । यस्तै पटक पटक गरी आठ पटकसम्म नियुक्तिको अवसर पाएका युवराज खतिवडा समेत उनै प्रधानमन्त्रीको आर्थिक सल्लाहकारको रुपमा सघाइरहेका छन् । जबकी प्रधानमन्त्रीको आर्थिक सल्लाहकार भनेको अर्थ मन्त्री हुन्छन् तर उनलाई अर्थमन्त्री विष्णु पौडेलमाथि भरोसा नभएर युवराज खतिवडाको साथ लिइरहेका छन् ।
प्रधानमन्त्रीमात्र होइन उपप्रधानमन्त्री प्रकाश मान सिंह समेत स्वकीयकै कारण बदनाम छन् । उनले स्वकीयका रुपमा यूपि लामिछानेलाई राखेका छन्, उनै यूपी हावी हुँदा शहरी विकास मन्त्रालय लथालिङ्ग हुन पुगेको छ । शहरी विकास मन्त्रालयका छायाँ मन्त्रीका रुपमा नैनसिंह महरहरुले सघाइरहेका छन् । कर्मचारी सरुवामा तिनै महर र यूपीहरुले राम्रै दाम उठाइरहेका छन् । त्यहाँ कर्मचारीतर्फ निजी सचिवतर्फ हालैमात्र सहसचिवमा उक्लिएका नारायण मैनालीलाई ल्याइएको छ । मैनाली गोपी र उमेशका साखै भाइ हुन ।
यस अघि उनी सीता गुरुङ्ग मन्त्री हुँदा उनको सचिवालयमा थिए । सीता मन्त्रीबाट हटेपछि राजश्व अनुसन्धान विभागमा पुगेका थिए । सहसचिवमा उक्लिए लगतै उनी शहरी मन्त्रालयमा आएका छन् । उनी शेखर कोइरालाको कोटाबाट शहरी भित्रिएका मैनाली निजामतीमा राम्रा छवि भएका कर्मचारीमा पर्दैनन् । उनी काठमाडौं जिल्ला प्रशासनमा हुँदा थुप्रै तिब्बती नागरिकलाई नेपाली नागरिकता दिएको आरोप लागेको थियो । पछिल्लो चरणमा यूपिले कर्मचारीसँग मिलेर निमित्तको खेतीपातीमा लागेको आरोप छ । अबको साता दिनभित्रै शहरीका ठूलो संख्याका कर्मचारी सरुवाको सुरसार हुँदैछ । सो सरुवामा समेत पद्यम मैनालीहरुलाई बाइपास गरेर नारायण मैनाली, यूपी लामिछाने र नैनसिंह महरहरुले खेलोमेलो चलाइरहेका छन् ।
यस अघि भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकलाई बदनाम गराउने पात्र हुन्, उनकै निजी सचिव बद्री तिवारी । मन्त्रीसँग एक बर्ष सचिवालयमा बिताएर अहिले प्रमुख जिल्ला अधिकारी पड्काएका छन् । भ्रष्टाचार मुद्धा लागेका अधिकृतहरु अहिले पनि उनै मन्त्री रमेश लेखकका दाहिने हात बनेर सघाइरहेका छन् । मन्त्रीका दाहिने हात बनिरहेका छवि रिजाल, जो पर्वते हुन् । उनले काठमाडौंको प्रमुख जिल्ला अधिकारी पड्काएका छन् । गृहमन्त्री लेखकको निजी सचिवालयमा बसेर शाखा अधिकृत विमल पौडेल र गणेशदत्त ओझाले प्रहरी सरुवा तथा बढुवाका साथै मन्त्रालयमा कार्यरत सहसचिवदेखि खरिदारसम्मको सरुवा तथा बढुवामा हस्तक्षेप गरिरहेको आरोप कर्मचारीहरूको छ ।
यी दुई अधिकृतमाथि भ्रष्टाचारको आरोप लाग्ने गरेको छ । एकले भर्खरै विशेषबाट सफाई पाएका ती पर्वतेहरुको टिम कतिसम्म हाबी छ भने खटाइएका ठाउँमा नजाने दुई दर्जन बढी कर्मचारीको नाम समेत सार्वजनिक गरिँदा मन्त्रीका जिल्लावासी, मुख्य सचिवसँग अत्यन्त निकट सम्बन्ध भएका शाखा अधिकृतको नाम सार्वजनिक गर्ने हिम्मत कसैले गर्न सकेन ।
यस्तै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले एक दर्जनलाई सल्लाहकार बनाएर राखेका छन् । जसमा केहीले आफैं राजीनामा दिएर हिडें भने हालैमात्र दुई सल्लाहकारलाई मन्त्रीले निष्कासन गरेका छन् । अहिले पनि मन्त्रीको सल्लाहकारको रुपमा नबिल बैंकका कर्मचारी अमित श्रेष्ठ हर्ताकर्ता छन् । यस अघि स्वास्थ्यमन्त्री प्रदीप पौडेलले २५ मंसिर २०८१ मा अवैतनिक विज्ञ सल्लाहकारमा डा.भगवान् कोइराला, डा. सुधा शर्मा, रघु काफ्लेलाई विज्ञ नियुक्त गरेर सरकारी रकम हावामा उडाइरहेका छन् । यस अघि स्वास्थ्यमन्त्री मोहन बस्नेतले पनि मारवाडी बैंकर विनोद चौधरीको बैंकमा आवद्ध कर्मचारी विश्व खड्कालाई सल्लाहकार नियुक्त गरेका थिए ।
मन्त्रीहरुको निजी र स्वकीयगरी दुई प्रकारको सचिवालयको व्यवस्था गरिएको हुन्छ । प्रशासनिक काम हेर्ने गरी निजी सचिवालयमा उपसचिव वा सो सरहको कर्मचारीको नेतृत्वमा अधिकृत, नायव सुब्बा, कम्प्युटर अपरेटर, कार्यालय सहयोगी र सवारी चालक समेत गरी कम्तीमा पाँच जनाको टिम र स्वकीय सचिवालयमा मन्त्रीबाटै नियुक्त उपस्वकीय अधिकृत (उपसचिव सरह) सहित स्वकीय अधिकृत, एक स्वकीय प्रशासन सहायक, हलुका सवारी चालक दुई तथा कार्यालय सहयोगी दुई जनाको गरी राज्यकोषबाट तलब भत्ता पाउने गरी सात जनाको स्वकीय सचिवालय हुन्छ । यस्तै कर्मचारीहरुको रजगज र आतंक छ, अहिले सिंहदरबारमा ।
अर्थमन्त्री विष्णु पौडेल हुन् कि बिचौलिया दीपक भट्ट हुन् भन्ने हल्ला कर्मचारी वृत्तमा चलिरहेको छ । उता स्वास्थ्यमन्त्री प्रदीप पौडेलको सचिवालयमा कार्यरत शालिकराम दाहालहरुसमेत यस्तै खेलोमेलोमा सक्रिय रहेको आरोप छ । शालिकराम यस अघि गगन थापासँग नजिक थिए । गगनकै जोडबलमा स्वास्थ्य छिरेर त्यहाँ खेलोमेलो चलाउँदै आएका छन् ।
उता भौतिक मन्त्रालयमा मन्त्री देवेन्द्र दाहालका निजी सचिव (पिए) प्रमोद खतिवडाको उस्तै आतंक छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालका जिल्लावासी इन्जिनियर प्रमोद खतिवडाको कारण मन्त्रालय आतंकित बन्न पुगेको कर्मचारीहरु गुनासो गर्दछन् । मन्त्रालयका कर्मचारीहरूको सरुवा गर्दा उनको पुरै हस्तक्षेप रहेको त्यहीको कर्मचारीहरू बताउँछन् । उनै पिए हाबी हुँदा दर्जनौं आयोजनाहरु निमित्तको आतंकै छ । त्यहाँ दर्जनौं कर्मचारीहरु जिम्मेवारविहीन हुँदा मन्त्री देवेन्द्र दाहालका पिए भने दोहोरो तेहोरो जिम्मेवारीमा छन् । मन्त्री दाहाल झापा क्षेत्र नम्बर पाँचका हुन भने उनको सचिवालयमा रहेका प्रमोद खतिवडा झापा क्षेत्र नम्बर एकका ।
प्रमोदको दरबन्दी डिभिजन सडक कार्यालय काठमाडौंमा रहेको छ । नेपाल निजामती कर्मचारी संगठनको केन्द्रीय सदस्यमा टीका लगाइएको थियो । खतिवडाले मन्त्रीको सचिवालयमा बसेर कर्मचारी सरुवा, निमित्त हाकिम बनाएर चलखेलमा सक्रिय रहेको भौतिक मन्त्रालयका कतिपय इञ्जिनियरहरुको आरोप लगाउँछन् ।
उद्योगमा रहेका मन्त्रीका स्वकीयले तरुनी उचाल्दा केही अगाडि जागिरबाटै हात धुनु परेको थियो भने त्यही रहेका अर्काे स्वकीयले कुनै व्यापारीको खर्चमा झण्डै २५ लाख खर्चेर राजधानीको तारे होटलमा विवाहको पार्टी दिएका थिए । यसरी मन्त्रीहरुको सचिवालयमा बसेका अधिकांशले त्यहाँबाट निस्कने बित्तिकै काठमाडौंमा घर, गाडी घोडा जोड्छन् ? कुन आय स्रोतबाट ? यसको खोजबिन गर्दछ कस्ले ?

