काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले चालु आर्थिक वर्षका लागि कार्यसम्पादन सम्झौता गरेको छ।
मन्त्री दीपक खड्का र मन्त्रालयअन्तर्गतका तीन सचिवबीच बुधवार सम्पन्न सम्झौतामा योजनागत कामलाई परिणाममुखी बनाउन प्रतिबद्धता व्यक्त गरिएको हो ।
सम्झौतामा ऊर्जा सचिव सुरेश आचार्य, जलस्रोत तथा सिँचाइ सचिव सरिता दवाडी तथा जल तथा ऊर्जा आयोग सचिवालयका सचिव दिनानाथ मिश्र सहभागी भएका थिए । कार्यक्रममा मन्त्री खड्काले गत वर्षको अनुभवलाई आधार बनाएर यस पटक सम्झौतामा उल्लेखभन्दा बढी उपलब्धि हासिल गर्ने विश्वास व्यक्त गरेका छन् ।
बजेट र स्रोत सुनिश्चित भइसकेका आयोजना ढिलाइ नगरी अघि बढाउनुपर्छ। सचिव र आयोजना प्रमुखले अझ सक्रिय भूमिका खेल्नुपर्ने समय आएको मन्त्री खड्काले बताएका थिए । उनले अनलाइन प्रणालीमार्फत नियमित रिपोर्टिङ गर्ने व्यवस्था मिलाउने र प्रत्येक हप्तामा प्रगति मूल्याङ्कन गर्ने योजना पनि अघि सारे ।

