काठमाडौं । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथि दफावार छलफल हुँदैछ ।
बिहान साढे ११ बजे बस्ने बैठकमा विधेयकको दफा २६ देखि छलफल सुरु गर्ने तय भएको हो । विधायन व्यवस्थापन समितिका उपसचिव नुमराज खनाल शर्माका अनुसार बुधबारसम्म विधेयकको दफा २५ सम्म छलफल भएको छ । विधेयकमा एक सय ४७ वटा दफा छन् ।
जसमा सहसचिवमा खुला प्रतिस्पर्धा, नासुमा बढुवा मात्रै कि खुला प्रतिस्पर्धा, अतिरिक्त सचिवको पदावधि, कुलिङ अफ पिरियड र ‘तोकिए बमोजिम’ सकभर घटाउने सांसदहरूको प्रस्तावको विषयमा छलफल जारी छ । महत्वपूर्ण विषयमा प्रमुख सचेतकहरूमार्फत राजनीतिक दलहरूको समेत धारणा लिएर निर्णयमा पुग्ने तयारी छ । तर, यो विधेयक ४ दिनभित्र पास गर्नैपर्ने दबाबमा राष्ट्रिय सभा छ ।
यो विधेयक गत असार १५ गते प्रतिनिधि सभाबाट पारित भएको थियो । असार १८ गते राष्ट्रिय सभामा पुगेको थियो । यसको ६० दिनभित्र विधेयक राष्ट्रिय सभाले प्रतिनिधि सभामा फिर्ता पठाइसक्नुपर्छ ।

