काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गाउँपालिका र नगरपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाएको छ ।
यो सँगै मन्त्रालयले एक सय २२ जना उपसचिव र ९७ शाखा अधिकृतको एकैपटक सरुवा गरेको हो ।स्थानीय तह पुनर्संरचना पश्चात् पहिलोपटक देशभरका नगरपालिका तथा गाउँपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृतको संख्या शून्यमा पारिएको छ । यसअघि एक सय पाँच नगरपालिका र ८६ गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा सञ्चालन भइरहेका थिए । ती सबै स्थानीय तहहरुमा दरबन्दी अनुसारका प्रमुख प्रशासकीय अधिकृतहरु खटाइएको छ ।
दरबन्दी अनुसारको प्रमुख प्रशासकीय अधिकृत खटाएको हुँदा यसअघि निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई दिइएको आर्थिक वा प्रशासनिक जिम्मेवारी स्वतःरद्ध भएको मन्त्रालयले जनाएको छ । सहसचिव प्रमुख प्रशासकीय अधिकृत हुनेमध्ये ९ वटा उपमहानगरपालिका र एउटा महानगरपालिकामा समेत छिट्टै दरबन्दी अनुसारको कर्मचारी खटाउने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

