मुस्ताङमा ऐतिहासिक जलवायु सम्मेलन

विविध समाचार

काठमाडौं । मुस्ताङमा ऐतिहासिक जलवायु सम्मेलन हुने भएको छ ।

जलवायु सम्मेलनमा देशभरका सात सय ५३ पालिकाका प्रतिनिधिहरू सहभागी हुने आयोजक घरपझोङ गाउँपालिकाले जानकारी दिएको हो । भाद्र ३१ मा हुने यो सम्मेलनले हिमाली क्षेत्रमा बढ्दो हिउँ पग्लन, पानीको स्रोत सुक्ने समस्या र वातावरणीय संकटबारे साझा कार्ययोजना बनाउन केन्द्रित हुनेछ ।

सम्मेलनको संयोजन घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहन सिंह लालचनले गर्नेछन् भने हिमाली क्षेत्रमा बढ्दो हिउँ पग्लन, पानीको स्रोत सुक्ने अवस्था र बढ्दो वातावरणीय संकटलाई सम्बोधन गर्न सबै पालिकाले साझा कार्ययोजना बनाउनुपर्ने आवश्यकता महसुस गरेर कार्यक्रम आयोजना गरिएको अध्यक्ष लालचनले जानकारी दिएका छन् ।

विशेष रूपमा यो सम्मेलनले सात सय ५३ पालिकाको साझा आवाजलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय मञ्चमा उजागर गर्ने र हिमाली भू–भागका चुनौतीहरूको समाधानमा ठोस कदम चाल्ने अपेक्षा गरिएको छ । कार्यक्रमले स्थानीय तहहरूलाई आफ्नो क्षेत्रअनुसार जलवायु प्रतिरोधी नीति बनाउन, राष्ट्रिय स्तरमा सुझाव दिन र अन्तर्राष्ट्रिय स्तरमा नेपालको आवाज उठाउन सशक्त अवसर प्रदान गर्नेछ। सम्मेलनमा सहभागीहरूले जलवायु परिवर्तन सम्बन्धी अनुसन्धान, अनुभव आदान–प्रदान र साझेदारीका अवसरहरू पाउनेछन् ।

सोहि दिन मुस्ताङमा गरिने कृषि प्रदर्शनीमा उत्कृष्ट कृषक पुरस्कार समेत वितरण गरिने गाउँपालिकाले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *