काठमाडौं । नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको दर्ता तथा अनुगमन असोजदेखि विद्युतीय प्रणालीमार्फत लागू गरिने भएको छ ।
अध्यागमन विभागले नेपाल भ्रमण गर्ने विदेशी नागरिकको सुरक्षा, सूचनामा सहजीकरण, सम्भावित अपराध नियन्त्रण र नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग गर्ने उद्देश्यले विदेशी नागरिक दर्ता तथा अनुगमन (ट्र्याकिङ) प्रणाली विकास गरेको जनाएको हो । यस्तो प्रणाली पहिलो चरणमा १ असोजबाट काठमाडौं उपत्यका भित्रका तारे होटेलमा अनिवार्य लागु गर्न लागिएको विभागले जनाएको छ ।
दोस्रो चरणमा १ मंसिरबाट सबै तारे होटेल, विमान कम्पनी, टूर्स एण्ड ट्राभल कम्पनी, मनी एक्स्चेन्जमा लागु गरिने भएको छ । विभागका अनुसार त्यसपछि सबै प्रकारका होटेल, गेष्ट हाउस र अन्य सार्वजनिक तथा निजी संस्थाबाट प्रवाह हुने सेवामा लागू हुने भएको छ ।
विभागले सबै विदेशी नागरिकलाई सेवा प्रवाह गर्ने सबै सार्वजनिक संस्था तथा निजी कम्पनीलाई प्रणालीमा अनिवार्य रुपमा आवद्ध हुन अनुरोध गरेको छ ।विभागको सोमबारको निर्णय अनुसार यो प्रणाली कार्यान्वयन गर्न लागिएको विभागका प्रवक्ता टीकाराम ढकालले जानकारी दिएका थिए ।