काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंले दुई वर्षदेखि विचाराधीन रहेको मुद्दा आज सुनुवाइको लागि पेसी तोकेको छ ।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन योजना बनाएको अपराधका अभियुक्तहरुविरुद्ध दायर मुद्दामा बुधबार अन्तिम सुनुवाइ हुने भएको हो । दुई वर्ष २०८०/८१ मा यो मुद्दा प्राथमिकता मै परेको थिएन । वैशाखयता मात्रै शरणार्थी प्रकरणको मुद्दामा १० पटक साप्ताहिक र १६ पटक पूरक पेसी चढेको हो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले ठगी, किर्ते, सङ्गठित अपराध र राज्यविरुद्धको अपराधको कसुरमा ३० जनाविरुद्ध १० जेठ २०८० मा मुद्दा दायर गरेको थियो ।
