कुमारीको प्रतीकको रुपमा आज कन्याहरुको सामूहिक पूजाका तस्विरहरु

विविध समाचार

काठमाडौं । बसन्तपुर दरबार परिसरमा इन्द्रजात्राको लिंगो ठड्याएको भोलिपल्ट कन्याहरुको सामूहिक पूजा गरिएको छ ।

बिहीबार विधिपूर्वक लिंगो ठड्याएपछि शुक्रबार बिहान कुमारीको प्रतीकको रुपमा कन्याहरुको सामूहिक पूजा गरिएको हो ।नेपालमा जीवित देवी कुमारीहरूलाई राष्ट्ररक्षकका रूपमा मान्ने परम्परा रहेकाले हरेक वर्ष साना नानीहरुलाई सम्मान तथा पूजा गरिन्छ ।

इन्द्रजात्रा व्यवस्थापन समितिका अनुसार नेवार समुदायको परम्परामा कुमारी पूजा गर्नाले सुख, शान्ति र समृद्धि प्राप्त हुने धार्मिक विश्वास छ । सोही विश्वासका साथ स्थानीय आफ्ना सन्तानहरुलाई कुमारीको जस्तै पहिरनमा सजाएर पूजास्थलमा लगेका थिए । कन्याहरुलाई पूजा गरी दानदक्षिणा गरिएको थियो ।

नेवारी समाजमा वेलविवाह नगरिएका र अन्य समुदायका रजस्वला नभएका कन्यालाई शुभको प्रतीक मानी कन्या पूजा गरिन्छ । इन्द्रजात्रा सुरु भएसँगै आठ दिनसम्म विभिन्न नाचगान गरिन्छ । कुमारी, गणेश र भैरवको रथयात्रा गरी इन्द्रजात्रा पर्व मनाइन्छ । ती रथहरुलाई तल्लो टोल (कोहने), माथिल्लो टोल (ठहने) र बिचको टोल (नानिचा)मा रथ परिक्रमा गराइन्छ । नानिचाको दिन लिङ्गो ढालेर बागमतीमा सेलाएपछि इन्द्रजात्रा समापन हुन्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *