काठमाडौं । नेपाल र चीनबीच आज संयुक्त सैन्य अभ्यास सुरु हुँदैछ ।
नेपाली र चिनियाँ सेना बीचको संयुक्त सैन्य अभ्यासको यो पाँचौं संस्करण हो ।यसलाई ‘सगरमाथा मित्रता अभ्यास’ नाम दिइएको छ । अभ्यास १० दिनसम्म काठमाडौंमा हुने भएकोले यसपटकको सैन्य अभ्यासको क्रममा विपद व्यवस्थापन, मानवीय सहायता लगायत विषयमा ज्ञानको आदानप्रदान हुने नेपाली सेनाले जानकारी दिएको छ ।
नेपालमा चीनसँगको संयुक्त सैन्य अभ्यास आयोजना गरिएको यो तेस्रोपटक हो । नेपालमा २०७४ साल वैशाखमा पहिलोपटक चीनसँगको संयुक्त सैन्य अभ्यास आयोजना भएको थियो ।२०७५ सालमा चीनको छेन्दुमा र २०७६ सालमा नेपालमा भएको थियो ।
त्यसपछि बीचमा कोभिड महामारीका कारण सैन्य अभ्यास आयोजना हुन सकेको थिएन । नेपाली सेनाले भारत, अमेरिका लगायतका देशहरुसँग पनि संयुक्त सैन्य अभ्यास गर्दै आएको छ ।

