काठमाडौं । भाद्र शुक्ल पूर्णिमाका दिन आज खग्रास चन्द्रग्रहण लाग्दै छ ।
यो २०८२ सालको पहिलो चन्द्र ग्रहण हो । नेपाल पञ्चांग निर्णायक विकास समितिका अनुसार आज राति १० बजेर ११ मिनेटमा स्पर्श हुने चन्द्रग्रहण ११ बजेर ५६ मिनेटमा मध्य हुनेछ । यसैगरी १२ बजेर ३८ मिनेटमा उन्मीलन तथा राति १ बजेर ४१ मिनेटमा मोक्ष हुने बताइएको छ ।
जम्मा ३ घण्टा ३० मिनेट रहने ग्रहणमा १ घण्टा २३ मिनेट खग्रास रहने समितिले जनाएको छ ।आजको ग्रहण नेपाल, भारतलगायत एसियाका धेरै देशबाट सुरुदेखि अन्तसम्म अवलोकन गर्न सकिने छ ।
साढे तीन घण्टा काठमाडौंबाट चन्द्रग्रहण देखिने बताइएको छ । आउँदो फाल्गुन शुक्ल पूर्णिमामा पनि खण्डग्रास चन्द्रग्रहण लाग्ने समितिले जनाएको छ ।पृथ्वीको वायुमण्डलले निलो प्रकाशलाई तितरबितर पारिदिन्छ र रातो प्रकाशमात्र चन्द्रमामा पुग्ने भएकाले चन्द्रमा रातो देखिने भएको हो । यस्तो दृष्य नेपाल, भारतसहित एशिया, पश्चिम अष्ट्रेलिया र युरोपका ८५ प्रतिशत जनसंख्याले अवलोकन गर्न सक्नेछन् ।

