काठमाडौं । हालैको जेनजी आन्दोलनका क्रममा काभ्रेपलाञ्चोकको क्षतिग्रस्त सरकारी कार्यालयद्वारा आफ्ना सेवालाई नियमित गर्ने तयारी गरेका छन् ।
क्षतिग्रस्त प्रहरी कार्यालय तथा स्थानीय तहले वैकल्पिक व्यवस्थापन गरी सेवा नियमित गर्न लागेका हुन् । बनेपामा रहेका क्षतिग्रस्त जिल्ला ट्राफिक प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालयलाई साँगा प्रहरी चौकीमा स्थानान्तरण गरी सेवा नियमित गर्न लागिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ ।
यस्तै क्षतिग्रस्त इलाका प्रहरी कार्यालय पाँचखाल कार्यालयलाई पनि नजिकै अस्थायी रुपमा भाडामा लिई सेवा नियमित गर्न लागिएको हो । यसअघि दुई कार्यालयका काम कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयद्वारा खटाइएको हो ।यस्तै हिगुवापाटीस्थित प्रहरी चौकीलाई पनि मर्मत नभएसम्म वैकल्पिक व्यवस्थापन गरी सेवा नियमित गरिएको छ ।
यसैगरी प्रदर्शनकारीबाट आंशिक क्षति पुगेको पनौती नगरपालिकाले आफ्नो सेवा आजबाट नियमित गर्ने जनाएको छ । प्रदर्शनकारीबाट पूर्णरुपमा क्षति पुर्याइएको बनेपा नगरपालिकाले भने आइतबारदेखि स्वास्थ्य शाखाको छुट्टै भवनबाट अत्यावश्यक सेवा सुरु गरेको जनाएको छ ।
सदरमुकाम धुलिखेलस्थित जिल्ला प्रशासन कार्यालयलगायत सरकारी कार्यालयहरूको सेवा पनि आइतबार नियमित गराइएको थियो । स्थानीय प्रशासनको प्रारम्भिक विवरण अनुसार प्रदर्शनका क्रममा विभिन्न १८ वटा सरकारी तथा निजी संरचनामा ठूलो क्षति पुर्याइएको छ, भने दर्जनौँ सवारी साधनमा आगजनी गरिएको छ ।

