जेनजी आन्दोलनको कारण भौतिक पूर्वाधारमा खर्बौंको क्षति

विविध समाचार

काठमाडौं । जेनजी आन्दोलनको नाममा नेपालको भौतिक संरचना ध्वस्त बनाउनुका साथै राष्ट्रिय गौरवका दीर्घकालीन आयोजनासमेत धरापमा परेका छन् ।

किन कि भौतिक मन्त्रालय मातहतमा रहेका सडक विभागमा आगजनी गर्नु भनेको राष्ट्रिय गौरवका आयोजनादेखि विकास निर्माणका कामहरु अलपत्र पार्नु हो । भौतिक मन्त्रालयको क्षति अहिलेसम्म यकिन भएको छैन । भौतिकको इक्वुप्मेन्ट र सवारी साधन खोजीखोजी जलाइएको अवस्था छ । त्योसँगै विभिन्न दीर्घकालीन आयोजनाका फाइलहरु पनि जलाएर नष्ट गरिएको छ । त्यसले गर्दा कुन आयोजनामा कति बजेट तर्जुमा गरिएको थियो, कति खर्च भयो, कति बाँकी थियो भन्ने प्रमाण पनि नष्ट गरिएको छ ।

कम्प्युटर सफ्टवेयर क्षति हुँदा डाटा संकलन गर्न पनि कठिन हुने देखिन्छ । सडक विभागमा बढी क्षति पु¥याउनु भनेको ठूला–ठूला भ्रष्टाचारका फाइल नष्ट गर्नुहो । त्योसँगै नागरिक उड्डयन प्राधिकरणमा पनि ठूलो भौतिक क्षति हुन पुगेको छ । त्यसमा पनि विभिन्न ठाउँका विमानस्थल निर्माण गर्दा भएको भ्रष्टाचारबाट जोगिनको लागि आगजनी गरिएको अनुमान सर्वसाधारण जनताले गर्न थालेका छन् । त्यसैगरी विदेशी दाताबाट सबैभन्दा धेरै सहयोग आउने र भ्रष्टाचार हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पनि पुरै प्रमाण नष्ट हुने गरी आगजनी गरिएको छ ।

अर्कोतिर ठूला–ठूला भ्रष्टाचारका मुद्दा देखि, ज्यान मार्ने उद्योग र अवैध कारोबार गर्ने जघन्य अपराधका फाइल नष्ट गर्नको लागि सर्वोच्च अदालतमा आगजनी गरिएको अनुमान गर्न सकिन्छ । त्यसैगरी शहरी विकास मन्त्रालय अन्तर्गत पर्ने भवन विभाग आसपासमा रहेका सबै सरकारी कार्यालयमा आगजनी गरी नष्ट गरिएको छ । हुँदा–हुँदा नेपाली सेनाको घेरामा रहेको सिंहदरबारभित्र रहेको प्रधानमन्त्री कार्यालय, अर्थमन्त्रालय, गृहमन्त्रालयलगायत सम्पूर्ण सरकारी कार्यालयहरु र सवारी साधन खोजीखोजी आगो लगाएर नष्ट गरिएको छ ।

यो आगजनीको घटनालाई हेर्दा भ्रष्ट कर्मचारी र राजनीतिक दलका कार्यकर्ताको पनि घुसपैठ हुनसक्ने आँकलन सर्वसाधारणले गर्न थालेका छन् । आर्मीको घेराभित्र रहेको सिंहदरबार जलेको दृश्यले सर्वसाधारणमा सुरक्षा निकायप्रति विश्वास गुमेको छ । गत भदौ २३ र २४ गतेको विध्वंसात्मक घटनाबाट सर्वसाधारण जनतामा विश्वास दिलाउन सुरक्षा निकायले धेरै मेहनत गर्नुपर्ने देखिन्छ । त्यसले गर्दा नेपालका सुरक्षा निकायहरुले जनताले अनुभूति गर्नेगरी उदाहरण काम गरेर देखाउन जरुरी छ ।

त्योसँगै सर्वसाधारणले कर्मचारी देख्नेबित्तिकै भ्रष्टाचार हो भन्ने भाश्य सिर्जना भएकाले त्यसबाट उठन् निजामती लगायत सम्पूर्ण क्षेत्रका कर्मचारीहरुले पनि जनताले अनुभूति गर्ने गरी छिटोछरिता र चुस्तदुरुस्त सेवाप्रवाह गर्नेपर्ने देखिन्छ । त्यसैगरी राजनीतिक दलहरुमा पनि वर्षौसम्म एउटै व्यक्ति नेतृत्वमा रहने र अवसर लिइरहने प्रवृत्तिबाट माथि उठेर जनसेवामा जुट्ने स्वच्छ छविको व्यक्तिलाई पार्टीको जिम्मेवारी दिन आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *