काठमाडौं। गत भदौ २३ र २४ गते जेनजी पुस्ताको आन्दोलन ‘काम कुरो एकातिर, कुम्लो बोकी थिमीतिर’ भने झैं भएको छ ।
किन कि जेनजी पुस्ताको आन्दोलनलाई भजाएर फाइदा लिनेहरुबाट होसियार हुनुपर्ने भएको छ । जेनजी पुस्ताको नाममा आन्दोलन भड्काउने काम मेयर बालेन शाहले गरेका थिए भने त्यसको सहयोगीमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टी, रास्वपा, दूर्गा प्रसाईं र नेकपा माओवादी केन्द्रका पूर्व लडाकुको हात रहेको स्रोतले उल्लेख गरेको छ । उनीहरुले जेनजी पुस्तालाई ढाल बनाएर आन्दोलनलाई उत्तेजित बनाइ हिंसा, तोडफोड, आगजनी र लुटपाट मच्चाउने काम गरेका थिए ।
सो आन्दोलन हिंसात्मक हुनुमा स्वदेशीसहित विदेशीहरुको समेत घुसपैठ भएको आशंका गरिएको छ । त्यसले गर्दा नेपालमा जनधनको ठूलो क्षति भएको छ । त्यो क्षतिको बारेमा इतिहासले कहिल्यै बिर्सने छैन । नेपालका राजनीतिक दलहरु नातावाद, कृपावाद र व्यक्तिगत फाइदामा लिप्त हुँदा देशले यो दूर्भाग्य भोग्नुपरेको छ । राजनीतिक दलहरुले ठूलो जनमत पाउँदा पनि त्यसलाई बेवास्ता गर्दा आज यो घटना हुन पुगेको छ ।
अझै पनि राजनीतिक दलकै पक्षमा देशभर जनमत भएको उदाहरण संविधा दिवसको अवसरमा नेकपा एमालेले गरेको कार्यक्रममा भएको उपस्थितिले स्पष्ट पारेको छ । त्यसैगरी माओवादी केन्द्रले पेरिस डाँडामा आयोजना गरेको कार्यक्रममा पनि ठूलो जनउपस्थिति रहेको थियो । उता, नेपाली कांग्रेसले पार्टी कार्यालय सानेपामा आयोजना गरेको संविधान दिवस कार्यक्रममा पनि ठूलो उपस्थिति रहेको देखिन्थ्यो । यसले पनि दलहरुप्रति जनआस्था घटेको छैन भन्ने पुष्टि गर्दछ ।
तर, दलका नेताहरुमा ‘मै खाउँ मै लाउँ, मै गरौं मोजमस्ती’ भन्ने भावना विकास भएकाले देशले यो दूर्गति व्यहोर्न वाध्य भएको छ । अझै पनि दलहरुले पहिलाको जस्तो चाकडी, चाप्लुसी, नातावाद, कृपावाद र घुसखोरीलाई काखी च्यापिरहने हो भने मुलुकले झन् ठूलो क्षति बेहोर्ने देखिन्छ । त्यसले गर्दा पनि पुराना दलहरुले गल्तीहरु सच्याएर जनचाहनाअनुसार अगाडि बढ्नुपर्ने हुन्छ ।
त्योसँगै जेनजी पुस्ताको आन्दोलनबाट भएको क्षतिलाई संयम भएर दाता राष्ट्रसँग सहयोग माग्ने र नेपालीहरुबाट पनि केही सहयोग जुटाइ नष्ट भएका भौतिक संरचना पुनःनिर्माण र मर्मत गर्नुपर्ने दायित्व दलहरुमाथि छ । भौतिक संरचना पुनःनिर्माण गरी चलायमान गराउनुको साथै निजी क्षेत्रलाई लगानीमैत्री बनाउन सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने हुन्छ । अर्कोतर्फ दलहरुले चुनावी घोषणापत्रमा जे÷जस्ता प्रतिवद्धता जनाएका थिए त्यसको आधारमा देश र जनताको पक्षमा काम गर्नुपर्ने वातावरण निर्माण गरी स्वास्थ्य र शिक्षा क्षेत्रमा व्यापक सुधार गरेर लानुपर्ने भएको छ ।
त्योसँगै नेपालको संविधानमा देखिएका समस्यालाई समाधान गर्न संविधानका केही बुदाहरु संशोधन गरेर अगाडि बढ्नु नै श्रष्कर हुने छ । त्यसमा जेनजी पुस्ताको मागलाई सम्बोधन गरेर लान जरुरी छ । त्यति गरेको खण्डमा यो देशको रक्षा पुराना दलहरुबाटै हुने छ अन्यथा मुलुक झन् द्वन्द्वमा फस्ने देखिन्छ ।

