काठमाडौं । देशमा माओवादी युद्ध चर्किँदै गएपछि नेपाली सेना र नेपाल प्रहरीबीचमा सुरक्षाको अर्को शक्तिको आवश्यकता महसुस गरी तत्कालीन सरकारले २०५७ सालमा नेपाल सशस्त्र प्रहरी बल खडा गरेको थियो ।
सशस्त्र प्रहरी बल गठनका क्रममा नेपाली सेनाबाट केही र नेपाल प्रहरीबाट केही जनशक्ति लिइएको थियो । त्यतिबेला नेपाली कांग्रेसका नेता गोविन्दराज जोशी गृहमन्त्री थिए । सशस्त्र प्रहरी बलका प्रथम महानिरीक्षक कृष्णमोहन श्रेष्ठ थिए । उनलाई माओवादीले मनिर्ङवाकमा निस्किएको बेला गोली हानी हत्या गरेको थियो । नेपाली कांग्रेसको सरकारले गठन गरेको सशस्त्र प्रहरी बलले यति बेला आएर कांग्रेसका सभापतिको घर आगजनी र लुटापट हुनुका साथै सभापतिले कुटाइ खाँदा समेत जोगाउन सकेन ।
देशभित्रको दङ्गा नियन्त्रणको लागि खडा गरिएको सशस्त्र प्रहरी बलको गत भदौ २३ र २४ गतेको जेनजी पुस्ताले गरेको आन्दोलनका क्रममा जनधनको ठूलो क्षति हुँदा उपस्थिति देखिएन ।
जुन कामको लागि त्यो जनशक्ति खडा गरिएको थियो उसैको भूमिका शून्य भएपछि मुलुकमा दूर्घटना निम्तिने नै भयो । किन कि जेनजी पुस्ताले २३ गते गरेको आन्दोलनमा घुसपैठ भएर स्थिति हिंसामा परिणत भएपछि भोलिपल्ट २४ गते सशस्त्र प्रहरी बल देशैभरि परिचालन गरी सुरक्षा अवस्था मजबुद बनाउनुपर्नेमा त्यो गरिएको पाइएन ।
गृहमन्त्रालयको आदेश नपाएर हो या सशस्त्र प्रहरीले नचाहे हो । यदि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले समन्वय गरी सुरक्षा बल परिचालन गरेको भए देशमा त्यति ठूलो जनधनको क्षति हुने थिएन । सुरक्षा निकाय चुकेकै कारण मुलुकमा आगजनी र तोडफोडको घटना हुन पुग्यो । आन्दोलनकारीसँगै कतिपय निर्दोष प्रहरी र सर्वसाधारणले ज्यान गुमाउनुप¥यो । संसद् भवन, सिंहदरबार, राष्ट्रपति भवन, राष्ट्र बैंक, प्रधानमन्त्री निवास र निजी व्यापार, व्यवसाय र उद्योगधन्दामाथि आगजनी, तोडफोड र लुटपाट भइरहँदा सशस्त्र प्रहरी बल र नेपाली सेना मुकदर्शक बनिरहेका थिए ।
नेपाल प्रहरी त २३ गते नै हाएलकायल भएर भागाभागको अवस्थामा पुगेको थियो । २४ गते त सुरक्षाका तीनवटै निकाय भयभित र त्रसित भएका थिए । नेपाल प्रहरीको त अधिकांश चौकीहरु जलाएर नष्ट गरी हतियार र पोशाक आन्दोलनकारी लगेका थिए । आन्दोलनकारीहरु ट्राफिक प्रहरीको ड्रेस सेतो पोटी लगाएर हातमा बियरका बोतल र सिठी लिएर सडकमा उत्रिएका थिए । कोही इनिस्पेक्टर, डीएसपी, एसपीका पोशाक लगाएर कुर्सीमा बस्ने, आदेश दिने र सडकमा सवारी साधन रोकी ट्राफिकले जस्तै पैसा उठाउने काम समेत गर्न भ्याएका थिए ।
त्यसले गर्दा भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले तीनवटै सुरक्षा निकायको धज्जी उडाउने काम भएको छ । एकातिर त्यस्तो गरिएको थियो भने अर्कोतिर राजनीतिक दलका नेतालाई कुटपिट गर्ने र घर आगजनी, तोडफोड लुटपाट गरिएको थियो । प्रधानमन्त्री, राजनीतिक दलका शीर्ष नेता र मन्त्रीका अंगरक्षकलाई पनि कुटपिट गर्ने काम गरिएको थियो । त्यसैगरी निजी रुपमा सञ्चालित उद्योग, सुपरमार्के, गाडी शोरुम र केवलकार कम्पनीमाथि पनि आगजनी र तोडफोड गरिएको थियो ।
सरकारी भवनसँगै निजी सम्पत्तिमाथि आक्रमण हुँदा सुरक्षा निकाय भने मुकदर्शक बनेर बसिरहेको थियो । त्यसले गर्दा सुरक्षा निकायभित्र ‘रअ’का एजेन्टहरु घुसेको अनुमान गर्न सकिन्छ । यो जेनजी पुस्ताको आन्दोलनले नेपाल प्रहरीभन्दा शक्तशाली भनेर खडा गरिएको सशस्त्र प्रहरी बल निकम्मा सावित भएको छ । किन कि सशस्त्र प्रहरी बल देशमा दङ्गा नियन्त्रणको लागि खडा गरिएको हो । अघिपछि यसको खासै काम हुँदैन । त्यसैले पनि नेपालमा सशस्त्र प्रहरीको काम नभएको सर्वसाधारणको बुझाइ छ ।

