ananta gurung

जेन जेडबिदेशीको गोटी नबनौं

राजनीति लेख

अनन्त गुरुङ
बिदेशीका गोटी बनेका राजनीतिक दलहरु अहिले नघर नघाटको भईरहेकाछन । बिदेशीहरुले पनि खोला तर्यो लौरो बिर्सियो भने झै गरी आफ्ना गोटी बनेका प्रमुख राजनीतिक दलहरुलाई वेवास्ता गरीरहेकाछन । भ्रष्टाचार र कूशासन गरी अकुत कमाएका उक्त प्रमुख दलका शीर्ष नेताहरु देखि बिदेशी प्रभूहरु टाढिएकाछन । हत्त पापी छुट्टै बसौंला भने जस्तो गरी बिदेशी प्रभूहरुले प्रमुख दलहरु प्रति अछुत झै व्यवहार गर्न थालेकाछन ।

यति बेला प्रमुख दलहरु निरास भएपनि उक्त दलका शीर्ष नेताहरु फेरि पनि नेपालको राजनीतिमा आफ्नो दबदबा कायमै नै राख्ने हिसाबले जालझेलको मार्गमा अगाडि बढीरहेकाछन । तसर्थ जेन जेडको लागि आगामि दिनहरु आसान हुनेवाला छैन र निरन्तर उक्त प्रमुख दलहरु सित संघर्ष गरी बस्नु पर्नेछ । नेपालको प्रमुख राजनीतिक दलहरु बिगत देखि नै कुनै न कुनै बिदेशी मुलुकको दलाल बनेर नेपालमा राजगरी बसेकाछन । उक्त प्रमुख दलहरु अर्थात एमाले, नेपाली काँग्रेस र एमाओवादी तीन भिन्न राजनीतिक दलहरु भएपनि तिनीहरुको आर्थिक नीति एउटै छ ।

उक्त दलहरु वास्तवमा पेट एउटै भएको तीनटाउके सर्प झै छन । एमाओवादीका शीर्ष नेता प्रचण्डले १२ बुँदे दिल्ली शान्ति सम्झौता गरी युएनको नाममा युरोपियन युनियनलाई नेपालको राजनीतिमा हष्तक्षेप गर्न पाउने लाईसेन्स दिलाएका थिए । अहिले युएन नेपालबाट वापस गएको भएतापनि पश्चिमी मुलुकहरुले नेपालको बर्बादीको लागि जग तयार नेपालमा पारेकाछन । नेपालको राजनीति र बिकासमा बिदेशीले अन्तर्राष्ट्रिय र राष्ट्रिय गैरसरकारी संस्थाहरुको साथै विश्व बैंक र एशियाली बिकास बैंकहरुले हष्तक्षेप गर्ने र गर्न पाउने मजबुत भूमिका तयार पारी दिएकाछन । जेन जेडलाई पनि बिदेशीकै दलाल भएको आरोप दलहरुले लगाएकाछन ।

दलहरुको त्यस्तो आरोपलाई नेपाली जनताले अहिले सम्म पत्याएका छैनन् । जस्तो आफु उस्तै च्यापु देखेका मात्रै हुन भन्ने कुरा नेपाली जनताले मनन् गरेको देखिन्छ ।जेन जेडको मुख्य एजेण्डा भनेको भ्रष्टाचारको उन्मुलन, सुशासनको पुनरस्थापना र नेपालको संबिधान २०७२ संसोधन गर्नु नै हो । तर जेन जेडले पछिल्लो समयमा आफ्ना मुख्य एजेण्डा अनुसार चल्न सकीरहेका छैनन् । यस्तो राजनीतिक अवस्था निर्माण हुनुमा जेन जेड भित्र पनि फरक फरक समूहहरु भएको हुँदा आपसी तालमेल मिलाउन सकीरहेका छैनन् । जेन जेड योगिक पदार्थ नभएर धेरे पदार्थहरुको मिश्रन जस्तो मत्रै भएको महसुस हुँदैछ । यसै कुराको फाईदा उठाएर प्रमुख दलका शीर्ष नेताहरुले जेन जेडलाई फेरि पनि भ्रममा पार्न सकिने आकलन गरी गम्भिर प्रकारको प्रयास थालेकाछन ।

दलहरुले फैलाएको भ्रममा पर्दा नेपाल राष्ट्र र नेपाली जनताले अति अमूल्य ३६ बर्ष गुमाएकाछन । उस्तै परेमा राष्ट्रको अस्तित्व सम्म पनि गुमाउनु पर्ने खतरा अहिले पनि टरेको छैन । नेपाली जनताले नेपाल राष्ट्रमा शान्ति ल्याउन सक्ने, नेपालको अस्तित्व जोगाउन सक्ने र नेपालको राजनीतिमा सक्रिय सबै ताप्काका राजनीतिक दलहरुका बिच एकता कायम गर्न सक्ने एकमात्र शक्ति राजतंत्रलाई नै मानेका छन ।

जेन जेडवालाहरु आफ्नो स्थापित राजनीतिक एजेण्डाहरुबाट बिचलित भएपछि त्यसको प्रत्येक्ष वा परोक्ष फाईदा तीन प्रमुख राजनीतिक दलहरुले उठाउन सकेको खण्डमा जेन जेडको आन्दोलनको उपलव्धि हात्ती आयो हात्ती आयो फुस्सा जस्तो हुने संभावना छ । त्यसकारण जब सम्म भ्रष्टाचार गर्नेहरु र कूशासन गर्नेहरुलाई अदालतको कठघरामा उभ्याएर जेल हाल्न सकिन्न तब सम्म जेन जेडको आन्दोलन सफल भएको मानिने छैन ।

जेन जेडले गरेको २३ जनाको वलीदान पनि तब सम्म औचित्यहिन रहन्छ जबसम्म ओली–देउवा सरकारको प्रधानमंत्री ओली र गृह्यमंत्री रमेश लेखकलाई सोअपराध गरेकोमा दण्डित तुल्याउने कानुनी कार्यबाही हुँदैन । जेन जेडले जसरी पनि यस्तो गम्भिर खाले भात्रृहत्यामा संलग्नन त्यो पनि बालकहरुको हत्यारालाई गैरकानुनी छुट दिनु हुँदैन । तिनीहरुलाई नै चुनाव जितेर आउने र सरकार बनाउने वातावरण बनाउनु वा दिनु जेन जेडले आत्महत्या वा आत्मदाह गरेसरह नै हुन्छ वा मानिनेछ । नेपालको संबिधान २०७२ अनुसार नै हुने वा गरिने भनिएको चुनाव अर्थहिन छ र यसबाट जेन जेडको आन्दोलन र वलीदानी औचित्यहिन सावित हुन्छ ।

कमसेकम उक्त नेपालको संबिधान २०७२ लाई व्यापक संसोधन गरेर मात्रै चुनाव गरिनु वा हुनुपर्छ । तीन प्रमूख दलहरु बाहेकका दलहरु खासगरी राष्ट्रिय स्वतंत्र पार्टी, राष्ट्रिय प्रजातंत्र पार्टी र अन्य साना राजनीतिक दलहरुका बिच सके एकता र नसकेमा समझदारी कायम गरिनु पर्छ ताकि चुनाव हार्नको लागि नभएर जित्नको लागि लडेको हो भन्ने महसुस नेपाली जनताले गरुन । यस्तो बृहत एकता कायम गर्न गराउनको लागि जेन जेडले व्यवस्थापन मिलाउन सक्छ वा सक्दैन भन्ने कुरा निश्चिद छैन । जेन जेडको नेता जस्तो देखिएको बालेन र सक्रिय नेतृत्व गरी राखेको सुदन गुरुङ र अन्य जेन जेडका वार्ताकारहरुको अहिले सम्म कुन राजनीतिक दल हो भन्ने कुरा नै सुनिश्चित छैन ।

धरानको मेयर हर्क सम्पाङ जस्तालाई पनि जेन जेडले आफ्नो पक्षमा ल्याएर गोलबन्द गर्न सकीरहेको छैन । सुदुरपश्चिममा सुन्य भ्रष्टाचार र सुशासन गरी नाम कमाएका मेयर गोपी हमाल पनि धरानका मेयर हर्क सम्पाङ जस्तै बाहिर नै छन । धरानको मेयर हर्क साम्पाङले सुन्य भ्रष्टाचार र सुशासन मात्र गरी देखाएको नभएर श्रम सहभागिता विधि मार्फत बिकास नै गरी देखाएकाछन ।

त्यसकारण उहाँहरु जस्ता सबै रापताप खपेर बिशुद्ध ठहरिएका स्वतंत्र नेताहरुलाई जेन जेडले आफ्नो पक्षमा उभ्याउने प्रयास गर्नु उत्तम हुन्छ किनकि त्यसरी मात्रै भ्रष्ट र कुशासन गर्ने प्रमुख दलका अपराधी नेताहरुलाई फेरि सत्तामा फर्किनबाट रोक्न सकिन्छ ।जेन जेडले आफ्नो स्थापित शिद्धान्त र नीतिमा अडिग भएर अनुशासित हुँदै अगाडि बढेमा तीन प्रमुख दलहरुको केहि पनि चल्नेवाला छैन । धनको क्षतिमा प्रमुख तीन दलका नेताहरुले आफ्नो ध्यान केन्द्रित गरेकाछन भने उहाँहरुको कारणबाट भएको जनको क्षतिलाई सामान्यिकरण गर्दैछन ।

यस्तो कुरा कानुनी रुपमा नै मान्य हुन सक्दैन जब सम्म हत्यारा, भ्रष्ट र कूशासन गर्ने दलका नेताहरुलाई जेल सजाय हुँदैन । यदि यस्तो भएको खण्डमा मात्रै धनको क्षतिको मामलालाई छानविन गरी द्वोषीलाई कानुनी कठघरामा उभ्याउन सकिन्छ । दलहरु बिदेशीको गोटी बनेको हुनाले गैरकानुनी काम गर्नको लागि पनि उनीहरुको हात कामेन । नेपाली जनता माथि बिदेशी प्रभूको ईशारा र आड भरोषामा दमन, भ्रष्टाचार र कूशासन गरी अकुत कमाउने सफलता पाए । दलहरु भित्र आर्थिक अनुशासनको के कुरा सामान्य अनुशासन पनि छैन ।

त्यहि भएको हुँदा दलहरुले नेपालको बिकास गर्न नसकेपनि नेपाल राष्ट्रलाई ऋणैऋणको भारी बोकाएर नेपाली जनतालाई आर्थिक संकट र महंगीको मारमा पार्न बाँकी राखेनन् । बिदेशी ऋण लिने सीमा बढाउनको लागि ओली–देउवा सरकारले नेपालको अर्थतंत्रको आकार ६० खर्ब नाघेको देखायो । सामान्य कुरा हो के तपाई हामी नेपाली जनतालाई नेपालको अर्थतंत्र ६ ट्रिलियन पुगेको महसुस हुन्छ त ? जेन जेडले ओली–देउवा सरकारलाई हटाएर नेपाली जनतालाई ठुलो गुण लगाएका छन । यदि यो सरकार अर्को एक बर्ष टिक्न पाएको भए नेपालको बिनास सम्हाल्नै नसक्ने हुने थियो ।

जेन जेडले नेपाल राष्ट्रलाई बिघटन हुनबाट बचाएको हुँदा नेपाली जनता जेन जेड प्रति आभारी व्यक्तगर्दछ । अब यो शान्ति, यो खुशी र यो एकतालाई निरन्तर कायम राखेर तीन प्रमुख दलका शीर्ष नेताहरुलाई फेरि प्रधानमंत्री बन्नबाट रोक्नु पर्छ । जन भावना र जन चाहाना अनुसार नचल्ने दलहरुलाई नेपाल राष्ट्रको नेतृत्व गर्ने अवसर कहिले पनि दिनु हुँदैन । तीन प्रमुख दलहरुको राजनीतिक नेतृत्वलाई अब जेन जेडले नराम्रो मानीसकेपछि जेन जेड स्वयम राम्रो भएर नेपाली जनताको पक्षमा सुरक्षाकवच भएर उभिन सक्नुपर्छ । त्यसको लागि जेन जेड स्वयम पनि अनुशासित हुन जरुरी हुन्छ ।

जेन जेड पनि बिदेशीको गोटी बनेको खण्डमा नेपाल राष्ट्रलाई जोगाउन र नेपालको उचित मौलिक बिकास गर्नको लागि कोही बच्नेवाला छैन । सुशीला कार्की सरकार माथि स्वदेशी र बिदेशी गैरसरकारी संस्थहरुको सरकार हो भन्ने आरोप पनि लागेको छ । जेन जेड भित्रका महत्वपूर्ण घटक सुदन गुरुङ्गलाई अमेरिकी योजनामा चलेको स्वतंत्र तिव्वत अभियान सित जोडिएको आरोप छ । त्यसैगरी अमेरिकाले नै निर्माण गरेको युथ काउन्सिलको ९० हजार सदस्यहरु जेन जेड भित्र सक्रिय छन भनिएको छ ।

कार्की मंत्रीपरिषद्का महत्वपूर्ण सदस्यपनि यो युथ काउन्सिलमा संलग्न रहेको समचारहरु प्रकाशित भएकाछन । काठ मेयर बालेनको नाम समेत उक्त संगठनमा छ भन्ने समचारले नेपाली जनताको मनलाई तरंगित तुल्याएको छ । उक्त समचारहरु सबै सत्य हुन भने जेन जेड पनि बिदेशीको गोटी बन्न सक्ने संभावनालाई नकार्न सकिन्न । तसर्थ जेन जेडले जन भावना र जन चहानाको मानसम्मान गर्दै बिदेशीको गोटी बन्ने कुरालाई नकार्न वा त्याग्न सक्नु पर्छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *