काठमाडौं । तत्कालीन सरकारले राजस्व चुहावट नियन्त्रण गर्ने उद्येश्यले वि.सं. २०३४ सालमा अर्थ मन्त्रालयको मातहतमा रहने गरी राजस्व अनुसन्धान महाशाखाको स्थापना गरेको थियो । त्योसँगै राजस्व चुहावट नियन्त्रण गर्न अर्थ मन्त्रालयले २०५० सालमा राजस्व अनुसन्धान विभागको स्थापना गरेको थियो । सुरुमा कर र राजस्व चुहावट सम्वन्धी अनुसन्धान गर्ने क्षेत्राधिकार पाएको विभागले २०६५÷६६ सालयता गैरकर राजस्व चुहावट सम्वन्धी अनुसन्धान गर्ने अधिकार पाएको थियो ।
त्योसँगै विदेशी विनिमय सम्बन्धी कसूरको सम्बन्धमा छानविन र अनुसन्धान गर्नको लागि विभाग गठन गरिएको थियो । (अनुसन्धान तथा नियन्त्रण) नियमावली, २०७० तथा विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ र विदेशी विनिमय (नियमित गर्ने) नियमहरु २०२० बमोजिम राजस्व चुहावट तथा विदेशी विनिमय अपचलन सम्वन्धी कसुरमा अनुसन्धान गर्ने अनुमति पाएको थियो । अर्थमन्त्रालय अन्तर्गत रहेको सो विभागलाई २०७४ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत लगिएको थियो ।
त्यसपछि पटक–पटक सरकार फेरबदल हुने र प्रधानमन्त्री फेरिएसँगै राजश्व अनुसान्धान विभागको महानिर्देशक परिवर्तन गर्ने कारणले तस्कर र माफियाहरुले आफूले चाहेअनुसार महानिर्देशक नियुक्ति गर्न प्रधानमन्त्री कार्यालयमा लभिङ गर्ने परम्परा सुरु भएको थियो । अर्थमन्त्रालय माहतहतमा रहेको राजश्व अनुसन्धान विभाग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को माहतहतमा लगिपछि दिनप्रतिदिन विवादमा परेर पङ्गु बन्दै गएको थियो ।
राजश्व अनुसन्धान विभाग विवादमा परेसँगै प्रधानमन्त्री मातहतबाट अर्थमन्त्रालय अन्तर्गत नै ल्याउनुपर्ने आवाज उठिरहेको थियो । विवाद हुन थालेपछि तत्कालीन सरकारले विभागलाई अर्थमन्त्रालय अन्तर्गत नै फर्काउने तयारी गरिरहेको थियो । त्योसँगै जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारले राजश्व अनुसन्धान विभागलाई प्रधानमन्त्री मातहतबाट हटाएर अर्थमन्त्र मन्त्रालय मातहतमै फर्काएको छ ।
अर्थमन्त्रालय मातहतमा लगिए तापनि विभागमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्ति गरेका महानिर्देशक तीर्थराज चिलवाल रहेका छन् भने लामो समयसम्म डेरा जमाएर बसेकी उपमहानिर्देश तथा प्रवक्ता कृष्ण कुमारी श्रेष्ठ रहेकी छिन् । जेनजी पुस्ताको जगबाट बनेको अन्तरिम सरकारले महानिर्देशक चिलवाल र उपमहानिर्देशक श्रेष्ठलाई हटाउन सकेको छैन ।
हालका अर्थमन्त्री रामेश्वर खनालले तस्कर र माफियाहरुसँग मिलेमतो गरी ल र श्रेष्ठलाई यथावत राखिरहेका छन् । चाडवाडको बेलामा समेत तस्करहरुले राजश्व छली गरी मसला फलफूल, विस्फोटक पद्धार्थ र खाद्यान्न भित्र्याइरहँदा राजश्व अनुसन्धान विभागका महानिर्देशकसहित कर्मचारीहरु मुकदर्शक बनेर बसिरहेका छन् । उनै तस्करहरुले नेपाल भित्र्याएका बिस्फोटक पदार्थले दीपावलीभरि उपत्यकाका तीनवटै जिल्ला आतंकित बनेको छ । तर, सुरक्षा निकाय भने मुकदर्शक बनेर बसेको देखिन्छ ।

