विचौलियाको विगविगी, सेवाग्राहीलाई सास्ती

राजनीति समाचार

काठमाडौं । सरकारी कार्यालयमा विचौलियाहरुको विगविगी बढेसँगै सेवाग्राहीले सास्ती भोग्नुपरेको छ । जुनसुकै पार्टी तथा स्वतन्त्रको सरकार बने तापनि सरकारी कार्यालयमा विचौलियाहरुको हालीमुहाली चल्ने गरेको छ । मालपोत, नापी, यातायात, उद्योग, कम्पनी रजिष्ट्रार, वाणिज्य तथा आपूर्ति विभाग, वैदेशिक रोजगार विभाग, आन्तरिक राजश्व र राजश्व अनुसन्धान जस्ता मालदार अड्डाहरुमा विचौलियाहरुको घुइँचो लाग्ने गरेको छ । विचौलियाहरुले गर्दा सर्वसाधारण सेवाग्राहीहरु ठगिने गरेका छन् । त्यसको उदाहरण लिन सकिन्छ नामुद विचौलिया प्रमोद खड्कालाई ।

खड्काले तत्कालीन भूमि तथा सहकारीमन्त्री बलराम अधिकारीलाई गुमराहमा पारेर भू–माफियाहरुसँग मिलेमतो गरी सरकारी जग्गा हडप्ने, कर्मचारी सरुवा, बढुवामा खेल्न जस्ता हर्कत गरेर तत्कालीन मन्त्री अधिकारीलाई बद्नाम गराउँदै आएका थिए ।

अहिले उनी विभिन्न दल निकट कर्मचारी संगठनका नेताहरुलाई प्रयोग गर्दै मालदार अड्डामा विचौलियाको काम गर्दै हिडेका छन् । उनै खड्काको डिजाइन अनुसार माथि उल्लेख गरिएका कार्यालयका प्रमुखहरुलाई प्रयोग गरी कमाउधन्दा चलाउन थालेका छन् । खड्काले प्रज्ञापनपत्र बनाउनेदेखि सवारी लाइसेन्स बनाउने र कर्मचारी सरुवामा सेटिङ गर्ने धन्दा चलाउँदै आएका छन् । विचौलिया खड्कासँगै मिलेर कर्मचारीहरुले पनि कमाउधन्दा चलाउने गरेका छन् । प्रज्ञापनपत्र बनाउन पनि उनै खड्का लागिपर्ने गरेका छन् ।

विचौलिया खड्कालाई भन्सार, राजश्व र कर कार्यालयका कर्मचारीहरुले प्रयोग गर्ने गरेका छन् । खड्कालाई प्रयोग गरेर काम गराउँदा आफूलाई कमिसन आउने भएपछि कर्मचारीहरुले खोजी–खोजी उनलाई प्रयोग गर्ने गरेका छन् । खड्का विगत लामो समयदेखि विचौलियाको काम गर्दै आएका व्यक्ति हुन् । उनको धन्दा अधिकांश यातायात कार्यालय जाने र नक्कली लाइसेन्स बनाउने थियो । पछिल्लो समयमा आएर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय हुँदै भूमि, सहकारी तथा गरिवी निवारण मन्त्रालयमा समेत कर्मचारी सरुवामा सेटिङ गर्न थालेका थिए ।

हुँदाहुँदा पछिल्लो समय भन्सार अन्तर्गतका सबै कार्यालयमा प्रज्ञापनपत्र बनाउने र सामान वसारपसार गर्ने धन्दा चलाउने गरेको स्रोतले उल्लेख गरेको छ । तर, सरकारका सम्बन्धित निकायले यस्ता विचौलियाहरुलाई अनुसन्धान गरी कारबाही गर्न सकेको छैन । सवै क्षेत्रमा विचौलियाहरु हावी हुँदा सर्वसाधारण सेवाग्राहीले दुःख पाउनुका साथै आफ्नो जायजेथा गुमाउनसमेत वाध्य भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *