काठमाडौं । जेनजी आन्दोलनपछि राजनीतिक पार्टीसँगै उनीहरुका भ्रातृ, शुभेच्छुक तथा जनवर्गीय संगठनहरु पनि गुमनाम भएका छन् । राजनीतिक दलका नेतामध्ये सबैभन्दा खरो रुपमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पोलिट ब्यूरो सदस्य महेश बस्ने उत्रिका छन् । तर, एमालेकै महासचिव शंकर पोखरेल भने अध्यक्ष ओली र पोलिट ब्यूरो सदस्य बस्नेत जत्तिको बोल्न सकेका छैनन् । एमालेका २३ वटा जनवर्गीय संगठन हरेका छन् । सो संगठनमा करिव ६ लाख हाराहारी सदस्य रहेका छन् । तर, ती जनवर्गीय संगठनका पदाधिकारीहरुले खुलेर पार्टीको पक्षमा कुनै पनि कार्यक्रमहरु गर्न सकेका छैनन् ।
उता पार्टीको युवा दस्ताको रुपमा खडा गरिएको युवा संघले पनि संगठनको कुनै कार्यक्रम गर्न सकेको छैन । त्यसैगरी अखिल नेपाल विदार्थी संगठन अनेरा स्ववियुले पनि कुनै कार्यक्रम राखेको छैन । जेनजी आन्दोलनबाट बनेको सरकारले आगामी फागुन २१ मा संघीय निर्वाचन गर्ने भनिरहँदा एमालेका जनवर्गीय संगठनहरु चलायमान हुन सकेका छैनन् । एमालेले जनवर्गीय संगठनलाई चलायमान बनाउन नसकेकै कारण आगामी फागुन २१ मा हुने संघीय निर्वाचनलाई एमालेले महत्व दिएको देखिँदैन । त्यसले गर्दा पनि २१ फागुनमा संघीय निर्वाचन हुन्छ भन्नेमा एमालेले पत्याएको छैन ।
उता, एमालेले आगामी मंसिर २७–२९ गतेसम्ममा पार्टीको एघारौं महाधिवेशन गर्ने तयारी गरिरहेको छ । त्यसले गर्दा पनि एमाले महाधिवेशनको लागि केन्द्रीय प्रतिनिधि छनोटमा लागेको छ । देशैभरिबाट २१ सय हाराहारी केन्द्रीय प्रतिनिधि छनोट हुने छन् । तिनै प्रतिनिधिहरुबाट केन्द्रीय कमिटि निर्वाचित हुने छ ।
एघारौं महाधिवेसनमा अध्यक्ष केपी ओली र उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने देखिन्छ । उपाध्यक्ष पोखरेललाई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सहयोग गर्ने हल्ला छ । तर, वास्तविकता भने सार्वजनिक भएको छैन । अहिलेसम्मको खाका हेर्दा पार्टी अध्यक्षमा ओली नै सर्वसम्मत हुने सम्भावना त्यत्तिकै छ । अन्य पदाधिकारीहरुमा भने कडा प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । तर, अहिलेको परिस्थितिलाई हेरेर सकेसम्म केन्द्रीय समिति सर्वसम्मत चयन गर्नुपर्ने आवाज पार्टीभित्र उठन् थालेको छ । पार्टीलाई एक ढिक्का बनाएर अगाडि बढाउनको लागि पनि सर्वसम्मत केन्द्रीय कमिटि चयन गर्नुपर्ने दबाब सिर्जना हुन थालेको छ ।
एमालेको एघारौं महाधिवेशन सर्वसम्मत ढंगले सम्पन्न भएको खण्डमा आगामी फागुन २१ को निर्वाचनमा एमाले नै ठूलो पार्टी बन्ने सम्भावना देखिन्छ । त्यसले गर्दा पनि एमालेका आमकार्यकर्ताले सर्वसम्मतिबाट पार्टी नेतृत्व चयन गर्नुपर्ने आवाज उठाउन थालेका छन् । एकथरी नेता, कार्यकर्ताले ११ औं महाधिवेशनमा केपी ओलीकै नेतृत्वमा कार्यसमिति चयन गर्ने आवाज उठाएका छन् भने अर्को पक्षले केपी ओलीको विकल्पमा अर्को नेतृत्व चयन गर्नुपर्ने धारणा राख्न थालेका छन् ।
पूर्वराष्ट्रपति भण्डारीले पार्टी सदस्यता नविकरण गर्न खोज्दा अध्यक्ष ओलीले अस्वीकार गरेपछि एमालेका अधिकांश नेता, कार्यकर्ताहरु रुष्ट बन्दै आएका छन् । भण्डारीलाई एमालेमा पुनभित्र्याएको खण्डमा वामएकता हुने धारणा अधिकांश कार्यकर्ताले राख्द्रै आएका थिए । अध्यक्ष ओलीले पूर्वराष्ट्रपति भइसकेको सम्मानित व्यक्तिले पार्टी सदस्यता नलिएकै राम्रो भनेर आलटाल गरेपछि भण्डारी समर्थकहरु बिच्किन पुगेका छन् । त्यसले गर्दा पनि आगामी ११ औं महाधिवेशनमा सर्वसम्म नेतृत्व चयन हुनेमा शंका छ ।

