काठमाडौं । जेनजी पुस्ताको आन्दोलनबाट गृहमन्त्री बनेका ओमप्रकाश अर्यालले सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई चलायमान बनाउनुको सट्टा तीनै प्रहरीहरुलाई प्रयोग गरेर आफ्ना नातागोतालाई प्रमोसन गर्ने र आर्थिक लाभ लिने धन्दा चलाइरहेका छन् । गृहमन्त्री अर्यालले आफ्ना काका युवराज अर्याललाई डीआईजी बनाउन प्रहरी ऐन नै संशोधन गर्न भ्याएका छन् । अर्यालले चलाएको यो धन्दाले नेपाल प्रहरी र सशस्त्र प्रहरीमा कस्तो सुद्धिकरण गर्छन् भन्ने छर्लङ्ग भएको छ ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई विगत लामो समयदेखि राजनीतिक भर्ती केन्द बनाउँदा प्रहरी संगठनभित्र भ्रष्टाचार, विकृति र विसंगति बढ्दै गएको थियो । त्यस्ता विकृतिलाई रोक्न पहल गर्नुपर्नेमा उल्टै आफू गृहमन्त्री भएको बेलामा आफ्ना काकालाई डीआईजी बनाउने खेलोफड्को गरिरहेका छन् । त्यसले गर्दा सशस्त्र र नेपाल प्रहरीमा झन् विकृति बढ्दै गएको छ ।
नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त भएको दुई हप्ता भएको छ । दुई पुग्दा पनि नेपाल प्रहरीभित्र सुधारको कुनै खाका ल्याएर सार्वजनिक गर्न सकेका छैनन् । महानिरीक्षक कार्कीले प्रहरीभित्र सुधारको कुनै खाका ल्याउन नसक्दा सर्वसाधारण जनताले शान्ति सुरक्षाको प्रत्याभूति गर्न सकेका छैनन् । महानिरीक्षक कार्कीले जनताको अगाडि प्रहरीको शिर उच्च बनाउने कुनै योजना पनि ल्याउन सकेका छैनन् । उता सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालको जागिरबाट अवकास हुने दिन नजिकिँदै गर्दा सशस्त्र प्रहरी बलभित्र भावी आईजीपी बन्नेहरुको लडार्इँ सुरु हुन थालेको छ ।
आईजीपी बन्ने लडाइँ भएसँगै सशस्त्र प्रहरी बलभित्र विकृति, विसंगतिहरु झागिँदै गएका छन् । विगत लामो समयदेखि सशस्त्र प्रहरीभित्र जग्गा खरिदमा मुछिँदै आएका ज्ञानप्रसाद भुर्तेलको हालीमुहाली चल्दा पनि उनको संरक्षण भइरहेको छ । भुर्तेललाई सशस्त्र प्रहरीले न त कारबाही गर्न सकेको छ न त अन्यत्र सरुवा गर्न सकेको छ ।
सशस्त्र प्रहरीभित्र भुर्तेल जस्तै अर्का चतुर खेलाडी छन् एसएसपी होम ज्ञावली । ज्ञावलीले सशस्त्र प्रहरी हेडक्वाटरदेखि देशैभरिका कार्यालयका भौतिक संरचना मर्मत गर्ने र विभिन्न सामान खरिदमा बजेट छुट्ट्याउँदा प्रत्यक कार्यालयका खेलापालसँग कमिसन लिने गरेका छन् । त्यसरी बटुलेको कमिसनबाट भुर्तेलले आलिसान महल बनाएसँगै अमेरिकामा बस्दै आएकी श्रीमतीलाई हुन्डीमार्फत् पैसा पठाउने गर्दै आएका छन् । यस्ता प्रहरीलाई गृहमन्त्री अर्यालले कारबाही गर्नुको सट्टा उल्टै संरक्षण गरिरहेका छन् ।
अर्कोतर्फ सशस्त्र प्रहरीको गोदाममा आगो लाग्दा छानविन समिति बनाइएको थियो ।
त्यो छानविन समितिले त्यसको प्रतिवेदन अहिलेसम्म सार्वजनिक गरेको छैन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाका बहिनी ज्वाइ दीपेन्द्र कुँवर सशस्त्र प्रहरीको गोदामा भएको आगलागीमा संलग्न भएको बताइन्छ । कुँवरको संलग्न देखिएपछि छानविन समिति नै निस्क्रिय बनाइएको स्रोतको दावी छ । तर, गृहमन्त्री अर्याल भने सशस्त्रभित्रका यस्ता विकृति, विसंगतिको छानविनमा ध्यान नदिएर उल्टै आफ्ना काकालाई डीआईजी बनाउने खेलोफड्कोमा लागिपरेका छन् ।

