रामचन्द्र बस्नेत
काठमाडौं । सरकारी निकायमा विचौलियाहरुको हालीमुहाली चल्दा सेवाग्राही सास्ती खेप्न वाध्य भएका छन् । विचौलियाकै कारण अधिकांश मन्त्रालयमा कर्मचारी सरुवामा खेलोफड्को हुने गरेको छ । विचौलियाको इसारामा सरकार चल्दा सरकारका कतिपय कामहरु अलपत्र परिराखेका छन् ।
जेनजी बलबाट बनेको सरकारले कर्मचारी व्यवस्थापन पनि गर्न सकेको छैन । कर्मचारी व्यवस्थापन गर्न नसक्दा जताजतै सेवाग्राहीहरु रुष्ट बन्न पुगेका छन् । सरकारले मन्त्रिमण्ड पूरा गर्न नसक्दा त्यसको मौका छोपी कर्मचारीहरु पनि सचिव र मुख्य सचिवको कोठामा ‘यो भएन र त्यो भएन’ भन्दै दिन कटाउने जागिर पकाउनेभन्दा अन्य काम गर्न सकेका छैनन् ।
राज्यको सेवासुविधा खाने, नीतिनियम उनीहरुले नै बनाउने तर काम नगर्ने परिपाटी कर्मचारी वृत्तमा चर्चा चल्ने गरेको छ । जेनजी प्रधानमन्त्री शुशिला कार्कीले आधा दर्जनभन्दा बढी मन्त्रालय ओगटेर बस्दा विकास निर्माणसँगै सेगाग्राहीका कामहरु अलपत्र परिराखेका छन् । जेनजीका मन्त्रीहरुले जतिसुकै राम्रो काम गरेर देखाउँछु भने तापनि सरकारको काम भने कछुवा गतिमा चलिरहेको छ । यो सरकारले न त जेनजीले भने जस्तो भ्रष्टाचार नियणन्त्र, आन्दोलनका दमनकारीलाई कारबाही र महंगी नियन्त्रण नै गर्न सकेको छ, न त शान्तिसुरक्षाको अनुभूति नै दिलाउन सकेको छ । सरकारको काम गराइ हेर्दा सर्वसाधारण जनताहरुले दिनप्रतिदिन मार खेपिरहनुपरेको छ ।
एकातिर यस्तो अवस्था छ भने अर्कोतिर सरकारले आगामी फागुन २१ मा आम निर्वाचन गर्न हर प्रयास गरिरहेको भन्नु हास्यास्पद शिवाय केही हुन सकेको छैन । किन कि चुनाव गराउने ठेक्का लिएको सरकारले चुनावी वातावरण बनाउन नसक्दा सबैतिर लथालिङ्ग भइरहेको छ । राजनीतिक दलहरुले शान्तिपूर्ण भेला, जुलुस आमसभा गर्दा जेनजीको नाममा हातहतियार, ढुंगामुडा र लाठी प्रहार गरी ध्वंस मच्चाउने काम भइरहेको छ । त्यसले गर्दा चुनाव गराउने म्यान्डेट पाएको सरकारी पक्षबाटै निर्वाचन भाड्ने काम हुँदै आएको छ ।
उता, नयाँ दल दर्ता गर्नेहरुको घुइँचो लागिरहेको थियो भने पुराना दलहरु आन्तरिक झगडामा व्यस्त देखिन्थे । नयाँ दलहरुलाई चुनाव चाहिएको छ भने पुराना दलहरुलाई चुनावभन्दा संसद् पुनःस्थापना चाहिएको छ । पुराना दल र सरकारको टक्करले गर्दा मुलुकमा न त आगामी फागुन २१ गते निर्वाचन नै हुन्छ, न त देशले निकासा नै पाउँछ । त्यसले गर्दा मुलुकमा न विकास निर्माण काम अगाडि बढ्न सक्छ न त राजनीतिले स्थायित्व नै पाउन सक्छ ।
राजनीतिक स्थायित्वको लागि राजनीतिक दलहरुले ‘मेरो गोरुको बाह्रै टक्का’ नभनी एकअर्कालाई गालीगलौज गर्नुको सट्टा संयम भएर एक ठाउँमा उभिएर कि संसद् पुनस्थापनातिर लाग्ने कि निर्वाचनमा होमिने भन्दा अर्को विकल्प देखिँदैन । देशको आर्थिक अवस्था हेर्दा निर्वाचन गर्नेभन्दा दलहरु एक ठाउँमा उभिएर संसद् पुनस्र्थापना गर्दा मुलुकले निकासा पाउनुको साथै संविधानको रक्षा हुने देखिन्छ ।
