भौतिकका कर्मचारीको सम्पक्ति छानबिन हुन्छ त ?

राजनीति समाचार

काठमाडौं । भौतिक मन्त्रालय कुलमान घिसिङले सम्हालिइरहँदा सडक विभाग अन्तर्गतका डिभिजन प्रमुख र आयोजना प्रमुखबीच समन्वयकारी भूमिका हुन सकेको छैन । अधिकांश कर्मचारीहरुले डिभिजन सडक कार्यालयमा बस्दा र आयोजना प्रमुख हुँदा भएको भ्रष्टाचारको छानबिन हुनुपर्ने आवाज पनि भौतिक मन्त्रालय अन्तर्गतका कर्मचारीहरुले गर्न थालेका छन् । कुनै कर्मचारीलाई सधै मालदार अड्डाको जिम्मेवारी दिइएको छ भने पैसा खर्च गर्न सक्ने कर्मचारी सधै काम नलाग्ने कार्यालयमा बस्न वाध्य छन् । इन्जिनियर सरुवामा पनि त्यस्तै भएको थियो ।

राष्ट्रिय गौरवका आयोजनामा बजेटको कारण यो वर्ष काम नहुने बताइएको छ । गत वर्ष पनि बजेट अभावकै कारण विकास निर्माणका काम भएका थिएनन् भने यस वर्ष पनि विकास निर्माणलाई छुट्याइएको बजेट निर्वाचनको लागि खिचिएको कारण विकासका आयोजनाहरु अलपत्र पर्दै गएको कर्मचारीहरुको गुनासो छ । भक्तपुर, पोखरा, चितवन र विराटनगरमा सबैभन्दा धेरै बजेट छुट्याइएको पाइन्छ । काठमाडौं डिभिजन पनि कम छैन । भक्तपुर सडक डिभिजन कार्यालयको बजेट धेरै छ ।

भक्तपुर सडक डिभिजन प्रमुख रहेका सुमन योगेशले ९ अर्ब बजेटको खेलोमेलो गरी खल्ती भर्ने काम गरेको बताइन्छ । भक्तपुर सडक डिभिजन कार्यालयले निर्माण कार्यलाई प्राथमिकता दिन नसकेको भक्तपुरवासीहरुको आरोप छ । भक्तपुर सडक डिभिजन प्रमुख सुमन योगेसले दुई कार्यकाल सोही कार्यालयमा बिताए तापनि सडक निर्माण हुन नसकेको गुनासो त्यत्तिकै छ । सुमनले भक्तपुर सडक डिभिजनमा बस्नको लागि तत्कालीन मन्त्रीका पियलाई प्रयोग गरी भत्तपुरमा बस्न सफल भएका थिए ।

जेनजीको सरकारले सुमनलाई भक्तपुरबाट अन्यत्र सरुवा गर्न सकेको छैन । ९ अर्ब बजेटमा सुमनले तर मारिरहेका छन् । भक्तपुर सडक डिभिजन कार्यालयमा यतिबेला ‘जुनै जोगी आएपनि कानै चिरेको भन्ने भनाइ चरितार्थ भएको छ । सुमन जस्ता खेलाडी इन्जिनियरहरुले सडक निर्माणको काम छाडेर भ्रष्टाचार र विकृतिलाई टेवा पु¥याउने काम गरेको कर्मचारीहरुले बताउन गरेका छन् । सुमन रौटहट, मकवानपुर, हुलाकी राजमार्ग, कान्ति लोकमार्ग जस्ता मालदार आयोजनमा बसेर निर्माणको काम भन्दा पनि बजेट हिनामिना गरी विकास निर्माणको काममा हानिनोक्सानी पु¥याएको कर्मचारी स्रोतले बताएको छ ।

अर्काेतिर सडक विभागमा बसेर हालिमुहालि चलाउँदै आएका रैथाने कर्मचारीमा गनिन्छ प्रभाव झा । झा जुन अड्डामा बस्छन् त्यहाँ विवाद गरिहाल्छन् । झाको काम सडकको स्टमेट तयार गर्ने, देशभरीको सडकको बजेटको स्टमेट तयार गर्ने जस्ता काम गरेर सडक विभागमा दिन कटाइरहेका छन् । त्योसँगै निर्माण व्यवसायीहरुसँग मिलेमता गरी कमिशन खाने काम गरिराखेका छन् । गुणस्तर विभागमा बस्दा पनि त्यत्तिकै चलखेल गरेको आरोप छ ।

त्यसैगरी पोखरा सडक डिभिजन कार्यालयमा बस्दा करौडौ भ्रष्टाचार गरेको, सडक स्तरोउन्नती गर्दा कमशल खालको निर्माण सामग्री प्रयोग गरेको आरोप छ । उता, झा सडक विस्तार आयोजनामा बस्दा पनि विभिन्न विकृति र विसंगतिमा मुछिएको आरोप छ । धोविखोलामा बाढि पस्दा क्षतविक्षत भएको खोलालाई निर्माण गर्नको लागि स्टिमेट गरी कमिशन खाएको आरोप छ । झा हाल सडक विभागको संभार महाशाखामा बसेर देशैभरिको सडक संभार र मर्मतको बजेटको कमिशन लिन लागि परेको बताइन्छ । सडक विभागको योजना शाखामा बसेर डिजाइन स्वीकृति, म्याद थप बहुवार्षिक आयोजनाको लागत बढाउने, ठेकदारसँग मिलेमतो गर्ने, राष्ट्रिय गौरवका आयोजना निर्माण कम्पनीहरुसँग समन्वय गरी कमिशन लिने जस्ता काम झाले गद आएका छन् ।

यहि मौका छोपेर सडक विभागको महानिर्देशक बन्नको लािग पनि खेलोफड्को गरेको आरोप झामाथि लागि रहेको छ । तर यस विषयमा सम्बन्धित निकायको ध्यान जान सकेको छैन । सडक विभागभित्र भक्तपुर सडक डिभिजन प्रमुख र झाको सम्पत्ति छानबिन हुनुपर्ने आवाज कर्मचारीहरुले उठाउन थालेका छन् । भक्तपुर सडक डिभिजन प्रमुख सुमनले कौशलटारमा आलिशान बंगला खडा गरेको आरोप छ भने झाले सानेपामा भव्य महल खडा गरेका छन् । झा र सुमनको सम्पक्ति अख्तियारले छानबिन गर्न नसकेको नाम नबताउने शर्तमा एक कर्मचारीले तामाकोशी सन्देशलाई बताए । यो त एउटा उदाहरण मात्र हो । तत्कालीन डिभिजन प्रमुख र आयोजना प्रमुखहरुको सम्पक्ति पनि छानबिन हुनुपर्ने आवाज सडक विभागभित्र उठिरहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *