तराईवासी सितलहरको शिकार

विविध समाचार

काठमाडौं । चिसो बढेसँगै मधेस प्रदेशमा सितलहरको जोखिम बढ्न थालेको छ । बाक्लो हुस्सु र कुहिरोले गर्दा यातायातदेखि हवाइ उडानहरुमा समेत समस्या पर्न थालेको छ । दिनभरजसो बाक्लो कुहिरो, हुस्सुले घाम छेकेपछि ठन्नाले विपन्न वर्गहरु मारमा परिरहेका छन् । विगतका वर्षहरुमा पनि हिउँदमा सितलरले गर्दा कतिपय सर्वसाधारणको मृत्युसमेत हुने गरेको थियो ।

खासगरी बृद्धवृद्धा, बालबालिका, सुत्केरी महिला र विपन्न वर्गहरुमा चिसोको कारण समस्या पर्दै आएको थियो । सरकारले समयमै त्यसको व्यवस्थापन गर्न नसक्दा अहिले पनि त्यो समस्या ज्यूकात्यू रहेको छ । तराई, मधेसमा हुने यस्ता समस्याहरुको बारेमा न प्रदेश सरकारले ध्यान दिएको छ न त केन्द्र सरकारले नै चासो देखाएको छ । सधैंजसो तराईमा सितलहरको समस्या हुँदा त्यहाँका स्थानीय सरकारले पनि समयमा ध्यान दिएका छैनन् ।

यतिबेला मधेस प्रदेशमा दलहरुको सरकार छ भने केन्द्रमा जेनजी सरकार छ । मधेस प्रदेश सरकारले पनि सितलहरको समस्या समाधानको लागि कुनै तयारी गर्न सकेको छैन । र, केन्द्र सरकारले पनि त्यससम्बन्धी ठोस नीति ल्याउन सकेको छैन । देशमा तीन तहको सरकार हुँदा पनि वर्षेनी मधेस प्रदेशमा सितलहरकै कारण वृद्धवृद्धा, सुत्केरी महिला, बालबालिका र न्यानो कपडाको जोहो गर्न नसक्ने विपन्न वर्गहरुले अनाहकमा चिसोकै कारण ज्यान गुमाउँदै आएका थिए । यसपालि पनि काठमाडौंसँगै देशैभरि अत्याधिक चिसो बढिरहेको छ । त्यसले तराई क्षेत्रमा अत्याधिक हुस्सु र कुहिरो लाग्ने हुँदा ठन्डा बढेर गएको छ ।

त्यसैगरी हिमाली भेकतिर बसोबास गर्ने सर्वसाधारणहरु चिसोकै कारण थातथलो छोड्ने वाध्य हुन थालेका छन् । कतिपय थातथलो छोडेर अन्यत्र सर्ने गर्दछन् भने कतिपय त्यहीं ठाउँमा बस्न वाध्य हुन्छन् । हिमाली भेकमा हिउँ, तुसारो व्यापक रुपमा पर्ने गर्छ । त्यसले गर्दा वृद्धवृद्धा, महिला, बालबालिका र विपन्न वर्गका नागरिकहरु कठाङ्ग्रिएर ज्यान गुमाउन वाध्य हुन्छन् । तर, सरकार जुनसुकै पार्टी र वादीको बने तापनि यस्ता विषयमा ध्यान जान सकेको छैन । वर्षमा बाढीपहिरोको समस्या र हिउँदमा चिसोको समस्या सधैं भइरहँदा पनि राजनीतिक दलका नेता र सम्बन्धित निकायले ध्यान दिन सकेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *