काठमाडौं । उपत्यका खानेपानी बोर्डको कार्याकारी निर्देशकमा डोलप्रसाद चापागाईँ नियुक्त भएका छन् । नवनियुक्त कार्याकारी निर्देशक चापागाईँले खानेपानी बोर्डलाई कसरी चलायमान बनाउँछन् त्यो प्रतिक्षाको विषय बनेको छ । बोर्डमा विगत लामो समयदेखि कर्मचारीभित्रको विकृति र विसंगतिले सिमा नाग्दै आएको थियो । खानेपानी बोर्डमा जहिले पनि राजनीतिक हस्तक्षेपले गाँज्दै आएको छ । हुन त चापागाइँलाई पनि राजनीतिक हस्तक्षेप नहोला भन्न सकिँदैन । हाल खानेपानी मन्त्रालयको जिम्मेवारी राजेन्द्र सिंह भण्डारीले सम्हालेका छन् ।
मन्त्री भण्डारीले उपत्यका खानेपानी लिमिटेड (केयुकेयल)को अनुगमन गरी चुस्तदुरुस्त ढंगले काम गर्नुपर्ने भन्दै निर्देशन दिएका छन् । त्योसँगै अनुगमनका क्रममा मन्त्री भण्डारीले केयुकेयलका सिईओ अशोक कुमार पौडेललाई तलब मासिक ३ लाख खाने तर भनेजस्तो काम नभएको गुनासो गरेका थिए । काम नगरेकै कारण विगत लामो समयदेखि केयुकेयलका कर्मचारी युनियनले सिईओ पौडेलको राजीनासमेत मागेका थिए । मन्त्रीमा भण्डारी आएपछि सिइओ पौडेलको राजीनामा मागको विषयमा सुनुवाइ हुने कर्मचारीहरुले बताएका छन् । केयुकेयलको सञ्चालक समितिका एकजना सदस्य बिरामी भएको कारणले बैठक बस्न नसकेको र कामको तालिका सार्वजनिक हुन नसकेको कर्मचारीहरुको भनाइ छ । केयुकेयलभित्रको विकृति र विसंगतिसँगै विभिन्न दलको राजनीतिक हस्तक्षेपले गर्दा संस्थालाई तहसनहस बनाउँदै लगेको उपभोक्ताको गुनासो छ ।
त्यसले गर्दा काठमाडौं उपत्यकाभित्र खानेपानीको पाइप बिछ्याउने र पुरानो मर्मतमा समस्या पर्दै आएको थियो ।
अर्कोतिर काठमाडौं उपत्यका खानेपानी आयोजना कार्यान्वयन निर्देशनालय र केयुकेलका उच्चपदस्थ पूर्वकर्मचारीदेखि बहालवाला कर्मचारीहरुको सम्पत्ति छानविन गर्नुपर्ने माग उठिरहेको छ । कर्मचारीहरुको निकम्मापनकै कारण मेलम्चि खानेपानी आयोजनाको लागत बढेको, समयमा काम सम्पन्न नभएको, ठेक्का लगाउँदा कमिसनको आधारमा खेलावाड हुँदा कमसल निर्माण सामाग्री प्रयोग गरेकाले वर्षायाममा पटक–पटक वाढीपहिरोले क्षति पु¥याएको आरोप लागिरहेको छ । मेलम्चि खानेपानी आयोजनामा बाढिपरिरोले क्षति पु¥याउँदा काठमाडौं उपत्यकाभित्रका उपभोक्ताहरु पटक–पटक मारमा परिरहेका थिए । तर, केयुकेयल, पीआईडी र मन्त्रालयका उच्च तहका कर्मचारीहरु मेलम्चि खानेपानी आयोजनाको अनुगमन गर्ने नाममा जाने, रिसोर्टमा बस्ने मदिरा र लोकल भालेमा रमाउने, आयोजनाको लागत बढाउने काम हुँदै आएको थियो ।
सरकार फेरिएसँगै काठमाडौं उपत्यका खानेपानी कार्यान्वयन निर्देशनालयका प्रमुखहरु फेरबदल भइरहने गर्दछन् । नयाँ प्रमुख आउने बित्तिकै एउटा न एउटा फन्डा मच्चाउने र भ्रष्टाचार गर्ने गर्दै आएका थिए । हालका निर्देशक लक्ष्मी उपाध्यायले पनि पुरानै ढर्राबाट काम गरिरहेका छन् । केयुकेयलका सिईओ अशोक कुमार पौडेल र उपाध्यायको साँठगाठले मेलम्चि खानेपानी आयोजना दिनप्रतिदिन धराशायी बन्दै गएको र कर्मचारी मोटाउँदै गएको बताइन्छ । उपाध्यायले त अनामनगरमा बसेर गाडी मर्मत, खरिद, छपाइ, स्टेशनरी र पिउनेपानीमा समेत कमिसन लिने गरेको कर्मचारीहरुको आरोप छ ।
नव नियुक्त मन्त्री राजेन्द्रसिंह भण्डारीले उपाध्यायलाई नै निरन्तरता दिन्छन् कि अन्यलाई नियुक्ति गर्छन् त्यो हेर्न बाँकी नै छ । किन कि मन्त्री भण्डारीले वैदेशिक रोजगार विभागको महानिर्देशक आफूले पदबहाली गरेको हप्तादिनमै परिवर्तन गरेका छन् । त्यसलाई हेर्दा उपत्यका खानेपानी लिमिटेड (केयुकेयल) र काठमाडौं उपत्यका खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका प्रमुखहरुलाई परिवर्तन नगर्लान् भन्न सकिँदैन ।
उता मन्त्री भण्डारीलाई प्रहरीमा छँदा कहाँ सेटिङ गर्दा कमिसन आउँछ, कुन नेतालाई प्रयोग गर्दा मालदार ठाउँमा आफ्ना मान्छे सेटिङ गर्न पाइन्छ भन्ने राम्रो ज्ञान छ । त्यसैले गर्दा आफूले श्रम र खानेपानी जस्तो मालदार मन्त्रालयको जिम्मेवारी पाएको मौकामा तत्कालीन सरकारका मन्त्रीले नियुक्त गरेका व्यक्तिलाई हटाएर आफूनिकट व्यक्तिलाई नियुक्ति नगर्लान् भन्न सकिँदैन । त्यसकारण पनि लक्ष्मी उपाध्याय र अशोक कुमार पौडेलको जागिर धरापमा नपर्ला भन्न सकिँदैन । अभ,m केयुकेयलका कार्यकारी निर्देशक पौडेलको त कर्मचारीले नै विरोध गर्दै आएका थिए भने यता नयाँ मन्त्री नियुक्ति भइसकेका छन् । त्यसले गर्दा पौडेललाई झन् समस्या पर्ने देखिन्छ ।

