झापा ५ मा ओलीलाई चारैतिरबाट घेराबन्दी किन ?

राजनीति समाचार

सविता बस्नेत
अध्यक्ष ओलीले भारतले नेपाली भूमि मिचेको कुरा चिनभ्रमणमा उठाउँदा नेपालमा जेनजी आन्दोलनको नाममा सिंहदरबारसमेत जलाउने हर्कत भयो । त्यो हर्कतले सरकार ढल्नुका साथै प्रतिनिधि सभा भंग गरियो । त्यसपछि नागरिक सरकार गठन गरेर फागुन २१ प्रतिनिधि सभा निर्वाचन गर्ने मिति तय भयो । निर्वाचन नजिकिँदै गर्दा एमाले अध्यक्ष ओली आफ्नो गृहजिल्ला झापा क्षेत्र नंम्बर ५ बाट उम्मेदवार बनेका छन् । ओलीसँग प्रतिस्पर्धा गर्न काठमाडौंका तत्कालीन मेयर बालेन साह झापा ५ पुगेका छन् । अध्यक्ष ओलीसँग निर्वाचनमा प्रतिस्पर्धा गर्नुभनेको बालेको लागि ‘भूईको उठाउन खोज्दा गोजीको पोखिनु’ जस्तै हो ।

आफ्नो थातथलो छोडेर काठमाडौंबाट झापा ५ मा बालेन जानुको पछाडि कुनै अमुक शक्तिको चलखेल भएको अनुमान गर्न सकिन्छ । यसअघिको निर्वाचनमा ओलीको मतान्तर नै अकास–पतालको फरक हुने गरेको छ । स्थानीय प्रतिस्पर्धी हुँदासमेत २७÷२८ हजारको फरकमा ओली निर्वाचित हुँदै आएका थिए भने यसपालि बाहिरका व्यक्ति गएर झापा ५ मा ओलीसँग प्रतिस्पर्धा गर्नुभनेको ‘नाङ्लो ठटाएर हात्ति तर्साउनु’ जस्तै हो । त्यसले गर्दा पनि झापा ५ मा ओलीको अगाडि बालेनको दाल गल्ने देखिँदैन । नेपाली जनताले यतिबेला ओलीलाई राष्ट्रभक्त नेताको रुपमा हेरिरहेका छन् भने झापाली जनताले विकास प्रेमी नेताको रुपमा चिन्ने गरेका छन् ।

किन कि ओली सरकारको पालामा पूर्व–पश्चिम रेलमार्ग, मध्येपहाडी लोकमार्ग, हुलाकी राजमार्ग, केरुङ–काठमाडौं रेलमार्ग, नाकढुंगा–कलंकी सुरुङ्गमार्ग, कीर्तिपुर क्रिकेट स्टेडियमलगायत थुप्रै राष्ट्रिय गौरवका बहुवर्षे आयोजनाहरुको थालनी भएका छन् । त्योसँगै २०७२ सालको भूकम्पले ध्वस्त बनाएका राष्ट्रिय धरोहरहरु जस्तै धरहरा, रानीपोखरीलगायत थुप्रै पुनःनिर्माणका काम पनि ओली सरकारको पालामा सम्पन्न भएकोे थियो । ओलीका यी र यस्तै कामका कारण उनलाई नेपाली जनताले विकास प्रेमी नेताको रुपमा चित्रित गरेका छन् । त्यसले गर्दा झापा ५ मा ओलीको विकल्प नरहेको झापाली जनताको भनाइ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *