कांग्रेस र एमालेको घरझगडाले रास्वपालाई मलजल
काठमाडौं । फागुन २१ सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा रास्वपाले दुई तिहाई बहुमतसहित सानदार विजय हासिल गरेको छ । अन्य पुराना र ठूला भनिएका दलहरु ३८ देखि ३ सिटभित्र खुम्चिन पुगेका छन् । नेपाली कांग्रेस जस्तो पुरानो र ठूलो लोकतान्त्रिक पार्टी ३८ सिटभित्र खुम्चिन पुगेको छ भने दोस्रो ठूलो दल एमाले २६ सिटभित्र खुम्चिन पुगेका छ । जब कि एमालेका विभिन्न जनवर्गी संगठनदेखि पार्टी सदस्यहरु नै ६ लाख ५० हजारभन्दा बढी छन् । ती पार्टी सदस्यहरुले नै एमालेलाई भोट हालेको देखिँदैन । किन कि त्यसमा ११ औं महाधिवेशनको असर र अध्यक्ष ओलीको घमण्डले गर्दा पार्टी सदस्यहरुले नै सर्वसाकारण जनतासँग भोट माग्ने हैसियत राखेनन् । उता, भरखरै सम्पन्न पार्टीको महाधिवेशनमा दुई खेमा स्पष्ट प्रतिस्पर्धा गरेका थिए । त्यसमा अधिकांश पार्टीभित्रका इमानदार र सक्षम व्यक्तिलाई वाइपास गरिएको थियो । त्यसको असर फागुन २१ को निर्वाचनमा एमालेलाई परेको देखियो । देशभरका पार्टी सदस्य मात्रै एकढिक्का भएर निर्वाचनमा होमिएको भए पनि एमालेले यो लज्जास्पद हार बेहोर्नुपर्ने थिएन ।
उता, देशकै पुराना र ठूलो लोकलातान्त्रिक पार्टी नेपाली कांग्रेसभित्र चुनावको मुखमा आएर आन्तरिक द्वन्द्वको आगो दन्किएको थियो । तत्कालीन सभापति शेरबहादुर देउवाको घरबाट गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा ठूलो संख्यामा पैसा भेटिनु र देउवाले आन्दोलनकारीबाट पिटाइसमेत खाएको विषयलाई लिएर पदबाट राजीनामा दिनुपर्ने दबाब पार्टीभित्र सिर्जना भएको थियो । त्यो दबाबलाई थेग्न नसकेपछि सभापति देउवाले उपभापति पूर्णबहादुर खड्कालाई कार्यबहाकको जिम्मेवारी दिएका थिए । तर, तत्कालीन महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले चुनावको मुखमा आएर विशेष महाधिवेशन गरेर पार्टीलाई दुई भागमा विभाजित गरेका थिए । पार्टी फुटेजस्तै भएर दुई भागमा विभाजित भएको बेला विशेष महाधिवेशनबाट म्यादी सभापति बनेका गगन थापाले एकलौटी ढंगले प्रत्यक्षतर्फको टिकट वितरण गरेका थिए । त्यसमा त्यागी र इमानदार नेताभन्दा नातेदार, उद्योगी, व्यापारी र ठेकेदारलाई बढी प्राथमिकता दिएका थिए । थापा नेतृत्वको कांग्रेस चुनावमा होमिइरहँदा देउवा पक्ष कांग्रेस काठमाडौंमा रमाइरहेका थिए । त्यसकै परिणाम स्वरुप कांग्रेस इतिहासमै लज्जास्पद हार बेहोर्न वाध्य भएको छ ।
त्यसैगरी माओवादी पार्टी नै नामेट पारेर २२ दल मिलेको हवाला दिँदै तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको संयोजकत्वमा नेपाली कम्युनिस्ट पार्टी गठन गरिएको थियो । कुनै बेला देशकै ठूलो पार्टी बनेको माओवादीसहित २२ वटा पार्टी मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी आज प्रत्यक्षतर्फ ७ वटा सिटमा खुम्चिएको छ । त्यस्तै मधेशवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा र क्षेत्रीय दलहरु लगभग समाप्त भएका छन् । रास्वपाको जनलहर हेर्दा नेपालमा लोकतान्त्रिक गणतन्त्रमाथि प्रश्नचिन्ह खडा भएको देखिन्छ । त्यो हुनुमा पुराना दलहरुकै अकर्मण्यता प्रमुख कारक भएको पाइन्छ । त्यसले गर्दा एमाले र कांग्रेसजस्ता जहानिया राणा शासन र निदलीय पञ्चायती शासन ढाल्ने दलहरुले आगामी दिनमा आफ्नो अस्तित्व जोगाउन ठूलो त्याग गर्नुपर्ने बेला आएको छ । तत्कालीन ठूलो. दल हुँदा र त्यसको आडमा सरकारको नेतृत्व गर्दा पार्टीका इमानदार र सिद्धान्त निष्ठ कार्यकर्ता र नेतालाई वाइपास गरेर नातावाद, कृपावाद, आसेपास, ठेकेदार, व्यापारी र विचौलियालाई काखी च्याप्दाको परिणाम अहिले एमाले, कांग्रेसले भोगेका छन् ।

